गण्डकी प्रदेश सरकारले स्थापना गरेको गण्डकी विश्व विद्यालयमा स्नातक तह तर्फ खेलकुद व्यवस्थापन ‘ब्याचलर इन स्पोट्र्स मेनेजमेन्ट’ सुरु गरेको छ । प्रदेश सरकारले सुरु गरेको विषयले सुरुवातमा निकै वाहवाही कमायो । तर विद्यार्थी भने अझै सोचे अनुरुप आउन सकिरहेको छैन् । कतिपयलाई स्पोट्र्स म्यानेजमेन्टका बारेमा जानकारी नै छैन भने जानकारी भएकालाई समेत गलत बुझाइ परिरहेको छ । खेलकुदमै विद्यावारिधि गरेका गण्डकी विश्वविद्यालय स्पोट्र्स म्यानेजमेन्ट विभाग प्रमुख डा. मधुसुधन सुवेदीसंग गरिएको छोटो कुराकानी ।
खेलकुद विषयको अवधारणा कसरी सुरु भयो ?
यो ब्याचलर इन स्पोट्र्स म्यानेजमेन्ट जब गण्डकी विश्व विद्यालय सुरु भएसंगै कुलपतिको नियुक्ति भयो । त्यसपछि यो विश्वविद्यालयलाई टेक्निकल युनिभर्सिटि भनेर सुरु गरियो । टेक्निोलोजिहरु जसले चाँहि रोजगार छिटो पाओस भन्ने तरिकाले सुरु भएको अवधारणा हो ।
स्पोट्र्स म्यानेजमेन्ट पनि चाहिन्छ भनेर विभिन्न विज्ञको टोलीले यसबारेमा अध्ययन अनुसन्धान गरि एक प्रतिवेदन बनाएर तत्कालिन मुख्य मन्त्री पृथ्वी सुब्वा गुरुङ सरसंग कुरा गरेर यो पनि खाँचो छ भनेर ल्याइएको हो । भाग्यवश म पनि जोडिन पाए ।
कसरी जोडिनुभयो ?
पिएचडी गर्दै थिए । लकडाउनको भयो म पनि घरमै थिए त्यतिबेला नै युनिभर्सिटि पनि संचालन भयो । मैले पोखरामा ब्याचर इन स्पोट्र्स म्यानेजमेन्टको पढाइ हुन लागेको छ । यो लगायत अन्य १४ विषयको पनि पढाइ हुँदै रहेछ । जस्तो ब्याचलर इनि हटि कल्चर, ब्याचलर इन ब्युटीसियन एण्ड कस्मेटियोलोजि भन्ने ।
जुन चाहि पढ्ने वित्तिकै रोजगार पाइहालोस् भन्ने तरिकाले आएको हो । मैले पत्रिकामा देखेपछि म पनि यहि विषयको विद्यार्थी हुँ भनेर मैले मेरो शैक्षिक प्रमाणपत्र सहित वायोडाटा दिए । त्यसपछि यसको करिकुलमहरु बनाउनुपर्छ भनेपछि यो विषय सुरु भएको हो ।
यो पढाइ सुरुभएको एक वर्ष बढी भयो यो विषयप्रति विद्यार्थीको आकर्षण नदेखिनुमा हामीबाटै कमिकम्जोरी भएका हुन की विद्यार्थी
ल्याउन नसकिएको हो ?
स्पोट्र्स म्यानेजमेन्ट साउथ एशियामा त्यति राम्रो छैन् । युरोप अमेरिका तिर निकै राम्रो छ । साउथ एशियाको भारतमा समेत जबकी त्यहाँको जनसंख्या नै १.२ विलियन भएको राष्ट्रमा समेत यो विषयको सुरुवातमा यस्तै अवस्था थियो । यो कोर्ष नबुझ्ने अवस्थासम्म निकै समस्या थियो । हामी पनि सुरुवाति क्षणमा छौं ।
कतिलाई त यो विषयको बारेमा थाहा पनि छैन् । यो के हुन्छ ? कसरी हुन्छ ? भन्ने भएको छ । अहिले परिक्षण जस्तो मात्रै भएको छ । अहिले विद्यार्थीहरु आउनका लागि सोच्ने वातावरण हुन्छ नी ! हाम्रो रुढिवादी सोच जुन छ खेलकुदमा लाग्ने मान्छे नपढ्ने र नपढेकाहरु मात्रै खेलकुदमा लागेको हो भन्ने सोँचका कारण पनि नपढ्ने नै हो क्या भन्ने धारणाको विकास भएको पाउँछौं ।
जसले गर्दा यसको चाम घटेको छ अर्को कुरा भनेको हामीले जुन रुपमा यसको प्रचार गर्नुपर्ने हो त्यो हुन सकिरहेको छैन । एउटा निजी क्षेत्रको कलेज भएको भए आज कस्तो खालको प्रोमोसन हुन्थ्यो त्यो तपाई हामी सबैले आकलन गर्न सक्छौं । तर यो सरकारी विश्व विद्यालय भएकाले हामीले गर्न सक्ने र चाहेको गर्दा गर्दै पनि ठाउँमा नपुगेको हो की भन्ने देखिएको छ ।
हामी धेरै जिल्ला त घुम्यौ तरपनि कतिलाई त विश्व विद्यालय छ भन्ने नै थाहा नभएको अवस्था र कतिलाई यो स्पोट्र्स म्यानेजमेन्ट के हो ? यो नयाँ कोर्ष भएको भए यसमा फ्युचर के छ भन्ने कुरा नबुझेको अवस्था भएको कारणले यो चाम घटेको हो । अहिले हामीले प्रचार प्रसार गर्नकै लागि कुलपति कप फुटबल प्रतियोगिताको आयोजना गरेका छौं ।
यो विषयको अवस्था के छ ? भोलिका दिनमा विद्यार्थी पढ्न आएमा भविष्यको सम्भावना के छ ?
अहिलेको स्थिति भन्दा तत्काल जति पनि विद्यार्थी हुनुहुन्छ । उहाँहरु प्यासनले आउनुभएको छ । खेलकुदमा आवद्ध भएका कारणले करिअर विकासका लागि डिग्री सर्टिफिकेटको आवस्यकता पर्दो रहेछ भन्ने हिसाबले आउनुभएको छ । अब पछि भविष्यमा के हुन्छ भने विद्यार्थीहरु सरकारी नीति निमार्णको स्तर जुन छ त्यहाँ पुग्न सक्छन् । कसरी भन्दा हरेक गाउँ, नगरपालिकामा खेलकुद शाखा छ तर अहिले ति शाखा परिपुर्ति भएको अवस्था छैन् । किनभने हामीले उत्पादन दिन सकेका छैनौं । भोलिको अवस्थामा यो स्पोट्र्स म्यानेजमेन्ट पढिसकेपछि विभिन्न निकायमा रहेका ति शाखाहरुमा यस्को चाम अवस्य बढ्ने छ ।
खेलकुदमा राज्यको नै लगानी छैन्, हरेक विद्यालयमा खेल शिक्षकको कोटा हुन्छ तर, अन्य शिक्षकलाई नै पदपुर्ति गरिरहेका हुन्छन् ।
अहिले गण्डकी विश्वविद्यालयले खेलकुद विषय सुरु गरेको छ यसमा तपाईको योगदान के हुन्छ ?
यो मेरो स्तरबाट भन्दापनि उच्चस्तरबाट हुनुपर्ने कुरा हो । हामीले लोकसेवासंग समन्वय गर्दैछौं । अबको चार वर्षभित्र यो विषयका पहिलो व्याचका विद्यार्थीहरु जो पासआउट हुनेबेलासम्म लोकसेवासंग आबद्ध हुन सक्यौ भने । जस्तो अहिले राष्ट्रिय खेलकुद परिषद्मा आउँदा अर्को फिल्डबाट आउनुभएको छ । लोकसेवा दिएरनै अर्को क्षेत्रबाट आएका कमृचारीहरु बढी छन् । भने यो कोर्ष पढि सकेपछि स्पोट्र्स म्याजेजमेन्ट नै पढेको आउनुपर्छ भन्ने हिसाबले अहिले कुरा अघि बढेको छ । आशा गरौं यो योजनापनि पुरा हुनेछ ।
स्पोट्र्स म्यानेजमेन्ट कस्तो विषय हो ?
स्पोट्र्स म्यानेजमेन्ट बाहिरी मुलुकमा हेर्ने हो भने व्यवस्थापनको एयटा पाटो हो । तर हाम्रो देशमा यो पहिलो पटक सुरुवात भएको विषय हो । जुन गौरव गर्न पर्ने कुरापनि हो । यसमा हामीले कस्तो किसिमको डिजाइन गरेका छौं भने एउटा व्यवस्थापनको पाटो, अर्को स्पोट्र्स म्यानेजमेन्ट, अर्को विज्ञान र खेलकुद भनेर चार वटा विम्वहरु तयार गरेका छौं । व्यवस्थापन गरिसकेपछि (स्पोट्र्स म्यानेजमेन्ट) अर्थात म्यानेजमेन्टमा ब्याचलर गरिसकेपछि भोलि जाने बाटो बोर्डर भनौं न त्यो निकै ठूलो राखेका छौ । भोलि एमबीए पढ्छु वा अन्य कुनै विषय पढ्छु भन्ने हो भनेपछि पायो । स्पोट्र्समा भएन भने बैंकमा पनि काम गर्न मिल्ने बाटो बनाएका छौं । अर्को कुरा टियुले (त्रिभुवन विश्व विद्यालय) पनि मास्टर्स इन स्पोट्र्स साइन्स सुरु गरेको छ । हामीले साइन पनि राख्नुको कारण सामान्य ज्ञान होस् । हामीले सबै फिल्डबाट ल्याएर एउटा ग्रास रुट लेभलको कोर्ष डिजाइन गरेका हौं ।
यो विषय किन पढ्ने ? के छ यो विषय पढ्नलाई ?
स्पोट्र्स म्यानेजमेन्ट नेपालमा हेर्ने हो भने यतिधेरै अवसहरु रहेका छन् । पछिल्ला समय खेल गतिविधिहरु बढिरहेका छन् । इभेन्टहरु आउने क्रम जारी छ । यो पढिसकेपछि प्रोफेसनल तरिकाले इभेन्टहरु कसरी म्यानेजमेन्ट गर्ने, टुर्नामेन्टमा के हुन्छ, यसको प्रोफेसनलिजम कसरी विकास गर्ने भन्ने कुराहरु यहाँबाट सिकिन्छ । खेलकुदमा भविष्य बनाउन चाहनेहरुलाई यो कोर्षले धेरै नै सहयोग गर्छ ।
अहिले जति पनि मानिसले यो बुझेका छन् त्यो भनेको यो विषय पढेर खेलाडी बन्ने भन्ने छ । तर यो विषय फरक हो अझ पनि यो विषय नबुझिएको हो ?
हो । हामीले धेरै ठाउँमा पनि यो कुरा बुझ्यौ । धेरैको फिडब्याक पनि त्यहि आयो । स्पोट्र्स म्यानेजमेन्ट भनेपछि खेलाडी नै बन्ने हो की वा प्रशिक्षक बन्ने हो की भन्ने छ । तर खेलाडी वा प्रशिक्षक भएकाहरु छन् भनेछ यो होइन् । खेलाडी वा प्रशिक्षक बनेकाहरुले पढेमा सुनमा सुगन्ध हुन्छ । हाम्रो यो पुरै व्यवस्थापन तर्फ केन्द्रित विषय हो । कुनैपनि खेलको व्यवस्थापन राम्रो भयो भने त्यो राम्रो हुँदै जाने हो । हामीले खेलाडी बनाउने होइन् खेलाडी बनाउन त एकेडेमीहरु छन् । प्रशिक्षकका लागि पनि छुट्टै कोर्षहरु हुन्छन् । हाम्रो उदेश्यक भनेको सबैले ग्रासरुट स्तरबाट व्यवस्थापनको पाटोहरु बुझ्न जरुरी छ । खेलकुदमा त्यसको समस्या छ त्यहि कारणले नै हामीले यो कोर्ष ल्याएका हौं ।
अब अहिले नयाँ सरकारको बनेको छ, प्रदेशमा पहिला खेलकुद मन्त्रालय थियो अहिले छैन् खेलकुदसंग आबद्ध विषय भएकाले खेलकुदलाई झै यसलाई पनि कटौति त गर्ने होइनन् ? यसको विकासका लागि के गर्नुपर्छ ?
हाम्रो देशमा बुझाइ कम । जस्तो अहिलेपनि मन्त्री मण्डलहरु गठन गर्दा सबैभन्दा हेपिएको मन्त्रालय खेलकुद हो । जहाँ खेलकुद मन्त्री समेत हुन चाहदैनन् । देशको विकास गर्ने युवा शक्ति जोडिएको क्षेत्रलाई नै उपेक्षित गरेको पाउँछौं ।
यो छुट्टै मन्त्रालय प्रदेशमा समेत भएकै राम्रो । हुन त यो सरकारी पोलिसिपनि होला सानो मन्त्री मण्डल बनाम भन्ने होला । तर हाम्रो समाजमा खेलकुदलाई पछाडी नै पारिएको छ । यो कोर्षले खेलकुद बुझका लागि, खेल सुशासन के हो, व्यवस्थापनका कुरा देखी नीति निमार्णको कुरासम्म यो कोर्षले सहयोग गर्छ । त्यसैले यो कटौति हुन्छ भन्ने छैन् । किनकी यो अत्यावश्यक विषय बनेको छ । म त प्रदेश सरकारलाई मात्र नभई केन्द्र सरकारलाई पनि के सुझाव दिन चाहान्छु भन्दाफेरी खेलकुदलाई प्राथमिकता दिनुस् । खेलकुदमा लगानी गर्नु भनेको देशको अर्थतन्त्रको विकास गर्नु हो । यो खर्च होइन् उल्टै आम्दानीको स्रोत हो ।
कति विद्यार्थी छन् ?
अहिले तिन सेमेस्टरमा गरेर ३० बढी विद्यार्थी छन् । मेरो हिसाबमा यो सन्तोषजनक छ । किनभने मैले देखेअनुसार म भारतमा स्पोट्र्समै ब्याचरल गर्दा सायद म दोस्रो ब्याच पनि हुम्ला । दोस्रो ब्याचमा हामी ७/८ जनामात्रै थियौं । अहिले त्यहाँ हेर्ने हो भने ४०/४० कोटा भरिएर ८० जनाको कोटा भइसक्यो । म आशावादी पनि छु र विश्वास पनि छ की हाम्रो पनि छिट्टै त्यो दिन आउँछन् ।
यो विषय पढाइरहँदा समसया र चुनौति के छन् ?
यसको समस्या भनेकै आम मानिसमा परेको बुझाइ हो । जुन कुरा ठूलो समस्या हो र चुनौति पनि त्यहि नै हो भन्छु म । किनकी मानिसहरलाई खेलकुद त यसैपनि चल्छ भन्ने चेतना बसेको छ । खेलकुदलाई केहि पनि चाहिँदैन भन्ने मानसपटलमा जुन बुझाइ छ यो चिर्न सकेमा धेरै राम्रो हुन्छ । र यो कुरा बुझाउन हामी पनि कहिबाट चुकेका हौं भन्ने लाग्छ । अघि तपाईले सोधेझै यो खेलाडी बन्ने हो की प्रशिक्षक बन्ने हो की भन्ने जस्ता कुराहरु पनि प्रष्ट पार्न जरुरी छ । अब हामी त्यहि तरिकाले अघि बढ्छौं ।
अन्त्यमा यो विषयप्रति आकर्षित गर्न र समस्याको समाधान कसरी गर्न सकिन्छ ?
सबैभन्दा पहिला खेलकुदमै लागेकाहरुलाई यो विषमा बुझाउनुपर्नेछ । अर्को मुख्य कुरा भनेको हामीले रोजगार सिर्जना गर्न सक्नुपर्छ । खेलकुदमा भएका जुन अवसर छ ति अवसरहरुलाई समात्न सक्नुपर्छ र त्यो वातावरण हामीले सिर्जना गर्न सक्यौ भने यो विषयप्रतिको आकर्षण ह्वात्तै बढ्ने मैले देख्छु ।
प्रतिक्रिया लेख्नुहोस्:-