पोखरामा २०६३ साल देखि निरन्तर रुपमा फूल व्यवसाय गर्दै सिजनल मनकामना नर्सरी पोखरामा स्थापना भएको छ । नर्सरीको विभिन्न शाखाहरु रहेका छन् । पोखरामा नर्सरी खोल्दा देखि हालसम्मको अवस्था र तिहारको समयमा फूलको खपत कसरी भइरहेको छ र उत्पादन कति भएको भन्ने विषयमा नर्सरी संचालक तथा फ्लोरी कल्चर एसोसिएसन नेपाल कास्की जिल्ला अध्यक्ष डिल बहादुर गुरुङसंग गरिएको कुराकानी
नर्सरी व्यवसायमा लागेको कति भयो ?
नर्सरी व्यवसाय गरेको १५ वर्ष भयो ।
१५ वर्ष अघि नर्सरी खोल्दा र अहिलेको अवस्था कस्तो छ ?
मैले सुरुवात गर्दा ठ्य्याकै फुलको परिचय नै त्यति थिएन । विदेश गएर कमाएको रकमलाई नै सदुपयोग गरेर नै नर्सरी खोलेको हुँ । पहिला र अहिलेमा धेरै फरक छ । मैले नर्सरी खोल्दा मलाई छिमेकीहरुले पनि गाली गरे । यत्रो जंगल फालेर के झारपात रोपेको होला भन्थे । अहिले उनीहरुले नै अहो ! यस्ले त भविष्यलाई साचेर पो गरेको रहेछ भन्छन् । अहिले निकै गर्व लाग्ने गर्दछ ।
कुन देश बसेर आउँनुभयो र त्यहाँ के काम गर्नुहुन्थ्यो अब नजाने ?
मैले मलेसियामा चिया बगानमा काम गरेँ । चियाका मुना टिप्ने काम थियो । तर, काम सकिएपछि म फुलहरुको बगैँचामा नै गएर बस्थेँ । त्यहाँ काम गर्दा विदा थिएन् । कुनै वाहानावाजी हुदैन्थ्यो विरामी भएपनि आराम गर्न पाइएन । एक पटक विदा लियो भने दुई दिनको तलब काट्थ्यो । ‘तिमीहरुलाई मैले ३ वर्षका लागि किनेर ल्याएको हो । मोर, बाच मतलब छैन् । सिर्फ काम गर हामीलाई काम चाहियो’ भन्नथ्यो । पानी परोस, घाम लागोस चिसो होस् केहि मतलब नै छैन् । जसोतसो ३ वर्ष विताएँ त्यसपछि परिवारसँगै फुलखेती तर्फ नै लागे । त्यसपछि विदेश जाने सोचँ कहिल्यै बनाइन् । अब यसैमा भुलेको छु । अब त मेरो जिवनभरको ठेक्का नै लिएर यसोआरामको जिन्दगी दिन्छु भनेरै कागजी गरेरै बोलाएपनि म जान्न ।
कति लगानीमा खोल्नुभयो ?
मैले त्यतिखेर ६–७ लाख रुपैँया लगानी गरेँ । परिवारले पनि सुरुमा त कराए पछि भविष्य यतै देखेपछि सबै खुसी छन् । अहिले महिनामा ६० हजार भन्दा माथि नाफा भइराखेकै छ । चाडवाडको समयमा अलि बढि पनि आम्दानी भएको छ ।
तपाइँहरुको त वंशज नै यहि क्षेत्रमा लागेको छ, कति छन् यो व्यवसाय तर्फ ?
लगभग २०४७ साल तिर नै मेरो बहिनी ज्वाईँले यो व्यवसाय काठमाडौँमा सुरु गर्नुभयो । मनकामना नर्सरी भनेर । हामी सबै उही नर्सरीको चेला हौँ । त्यसरी नै अहिले पोखरामा मात्रै १० वटा जति हाम्रो नर्सरी छ । सबै मेरो बंश हुन् । काठमाडौँमा ४ वटा जति छ । चितवनमा पनि छ । अब जानेको नै यहि छ । यहि गर्यौ ।
पोखरामा फूलको माग कत्तिको छ त ?
पोखरामा फूलको माग दिनहुँ बढ्दो छ । पहिला म आउँदा मान्छेले यो गोर्खा देखि आएर के गरेको होल भन्थ्यो तर, अहिले सबैले मेरो घर नजिक आएपनि हुन्थ्यो नि भन्न थालेका छन् । हामीले कतिपय अवस्थामा माग धान्न नसकेको हो की झैँ पनि भएको छ ।
तिहारको समय छ, फुलको व्यापार कस्तो चलिरहेको छ ?
तिहारको समयमा राम्रो हुने त छदैछ । हामी नेपालीको महान चाड हो । अब यो हामीलाई चाहिन्छ है भनेर पहिला नै सर्वसाधारणले किनेर लाने गरेका छन् । फूलको अभाव हुन्छ की भन्ने चिन्ताले अहिले देखि नै लगिसकेका छन् । दशैपछि अहिलेसम्म ४० हजार रुपैँया भन्दा बढिको फूल गइसकेको छ भाइटिकासम्म लगभग सबै सकिन्छ ।
तपाईँ फ्लोरी कल्चर एशोसिएसन नेपाल कास्की जिल्ला अध्यक्ष समेत हुनुहुन्छ । कास्की जिल्लामा नर्सरीको अवस्था कस्तो छ र कति नर्सरी रहेका छन ?
अहिले लगातार चलिरहेको लगभग ४० वटा नर्सरी रहेको छ । त्यसमा ३५ वटा जति त हामी सबै प्रक्रिया पुर्याएर नै संचालन गरिरहेका छौँ भने बाकी रहेकाले पनि प्रक्रिया पुर्याउ लागि सकेका छन् । अवस्था ठिकै नै छ । यो पेशामा लाग्दा जति दु:ख गरेपनि कहिल्यै थकाइ लाग्दैन् । सबै नर्सरी चलिरहेका छन् । तर, जति चल्नुपर्ने त्यति नचलेको हो की भन्ने पनि लाग्छ ।
कास्कीमा समग्रमा फुल उत्पादन कति हुने गर्दछ ?
हाम्रो उत्पादन समयानुकुल नै गइरहेको छ । तरपनि यहि भन्ने आकँडा नभएपनि साढे २ देखि ३ करोडको हारहारीमा उत्पादन हुने गर्दछ । तर, बाहिरबाट ल्याउनै पर्ने हुन्छ । त्यसको अर्को कारण पनि छ । हामीले यहाँ स्थानीय तरिकाले नै उत्पादन गर्दछौ । बाहिरबाट ल्याउँदा धेरै दु:ख गर्न नपर्ने र नाफा धेरै हुने हुदाँ हाम्रो उत्पादनले नधानेको जस्तो देखिन्छ । अहिले सबै ठाउँमा फुल फुलिरहेको छ । मलाइचाहिँ यहिको उत्पादनले पुग्छ भन्ने लाग्छ तरपनि १५–२० प्रतिशत भने आउने गरको छ ।
तिहारमा सयपत्री फूल किन बढि खपत हुने गरेको छ यस्को महत्व के छ ?
सयपत्री फूल धार्मिक सांस्कृतिक र स्वास्थ्यको हिसावले पनि बहुउपयोगी फुल हो । यो फूलको महत्व धेरै नै रहेको छ । यस्को सुगन्ध र बनोटले पनि मानिसलाई मनदेखि आनान्द दिने गर्दछ । यस्ले मानिसको अहंकारलाई कम गर्ने र फुलको केसरी रंगले त्याग र मायालाई दर्शाउछ भनिन्छ । घरमा नकरात्मक कुरालाई फाल्ने काम गरिन्छ भन्ने पनि मान्यता रहि आएको छ । यो स्वास्थ्यमा पनि उपयोगी फूल हो । यो फूल सुकाएर वा लेदो बनाएर औषधीको रुपमा पनि उपयोग गर्न सकिन्छ ।
यो समयमा भारतबाट करोडौँ फूल भित्र्याइन्छ भनिन्छ के हाम्रो उत्पादन नपुगेकै हो त या हामीले फूलको महत्व बुझाउन नसकेका हौँ ?
मैले अघि पनि भने कतिपयले नाफायुक्त व्यपार गर्ने मनासायले र सजिलो तरिकाले जान खोजेकै कारण बाहिरबाट आउने हो । त्यहि नै हो बाहिरबाट ल्याउँदा आफ्नो मिहेनत लाग्दैन ल्यायो बेच्यो कमायो । पहिला पहिला उतै निर्भर पर्नपर्ने स्थिति थियो अहिले त्यसतो छैन् हामीले नै बजार धान्न सक्छौ । मैले यो सिजनमा नै ४० हजार माथि बेर्ना तयार गरिसके एउटा नर्सरीमा भने त्यसरी नै सबैको हेर्ने हो भने त उत्पादन राम्रो छ नी । यतिमात्र होइन हामीले अघिल्लो वर्षहरुमा भन्दा यो वर्ष उत्पादनमा समेत दोब्बर बृद्धि गरेकै हौँ ।
अहिले सयपत्री र मखमली फूलको बजार भाउ कस्तो छ त ?
बजार भाउ हामीले देशको अवस्था हेरेर नै तोकेका छौँ । कोरोनाले २ वर्ष त्यसै गयो । यसकारण पनि अहिले सयपत्री फूल प्रति थुँगा ५ रुपैँयाको दरले बेच्ने गरेका छौँ भने मखमली चाहि माला अनुसार छ । त्यहि १०० रुपैँया भन्दा माथि रहेको छ । किलो को हो भने लगभग ३ सय रुपैँया सम्म छ । अर्को कुरा ५ रुपैँया प्रति थुँगा भन्दा अहो ! महँगो रहेछ भन्ने लाग्छ तर, त्यसो होइन करिब १ सय ५० रुपैँयामा नै माला बन्छ । हामीले सबै नर्सरीमा सोहि अनुरारले नै बेच्नुपर्छ ।
फूलका बिउहरु कसरी उत्पादन गर्नुहुन्छ ?
यो सबै बिउ विजन स्वदेशमा पाइदैन हामीलाई दुखदायी कुरा त्यतातिर छ । हामीलाई राज्यलेनै बिउ विजन, नर्सरीलाई चाहिने सबै मेटेरियलहरु दिन सकेको छैन । स्वदेशमै भएको भए निकै सहज हुने थियो । भारतबाट पनि होइन हामीले तेस्रो मुलुकहरुबाट ल्याउन परिरहेको छ । त्यसैलेपनि महँगो पर्ने गरको हो । काठमाडौँमा अफिस छ हामीले यहाँबाट जे चाहिन्छ त्यसका लागि ६ महिना अघि नै पैसा पठाइदिनुपर्दछ । यो हाम्रो बाध्यता हो ।
कुन कुन देशबाट आउने गर्दछन ?
यो थाइल्याण्ड, होल्याण्ड, अमेरिका लगायत देशहरुबाट आउने गर्दछ ।
नेपालमा उत्पादन गर्न सकिन्छ की सकिदैन ?
अब यो त यहाँका विशेषज्ञहरुको कुरा हो । हामी त धेरै पढेका पनि हौइनौँ अनुभवकै आधारमा व्यवसाय गरेका हौँ । विशेषज्ञहरुले गर्नुपर्ने कुरा हो । वहाँहरुले चाहाने हो भने नहुने भन्ने छैन सक्नुहुन्छ भन्ने लाग्छ ।
स्वदेशमै उत्पादन गर्न राज्यले के गरिदिए हुन्थ्यो भन्ने लाग्छ त ?
राज्यले त मलाइ यस्तो लाग्छ की बिउ उत्पादन गर्नका लागि विशेषज्ञकै आवस्क पर्दछ । यस तर्फ ध्यान दिन आवस्यक छ । अर्को कुरा भनेको राज्यले हामीलाई खेर गइरहेको जमिन लिजमा उपलब्ध गराइदिए हुन्थ्यो । जहाँ खेर गइरहेको बगर, बाझो जमिनहरु छ त्यो बरु कति भाडा लिने हो लिएर दिए हुन्थ्यो । हामी जति दु:ख गर्न पर्छ गर्न तयार छौ । हामीलाई त अनुदान समेत चाहिदैन यति होस् की ढुक्क तरिकाले गर्न पाए हुन्थ्यो । राज्यलाई कति तिर्न पार्ने हो खुसी साथ तिर्न सक्थ्यौँ । यति भइदियो भने हाम्रा अबका सन्तान विदेश जान पनि पर्दैन । यहि व्यवसायमै घुमल्न्छिन् । यतै स्वरोजगार हुने थिए । बाध्यतावस हामीले छातिमाथि हात राखेर नै विदेश पठाउन परिरहेको छ ।





























प्रतिक्रिया लेख्नुहोस्:-