श्रीलंकाका सबै २६ क्याबिनेट मन्त्रीहरूले तत्काल प्रभावका साथ राजीनामा दिए। आइतबार अबेर राति, देशमा सबैभन्दा खराब आर्थिक संकटको बीचमा मन्त्रीहरूले राजीनामा दिएका हुन् ।
पत्रकारहरूसँग कुरा गर्दै शिक्षामन्त्री तथा संसदीय दलका नेता दिनेश गुणवर्द्धनाले प्रधानमन्त्री महिन्दा राजापाक्षेसमक्ष मन्त्रिपरिषद्का मन्त्रीहरुले राजीनामा बुझाएको जानकारी दिए ।
तर उनले यो सामूहिक राजीनामाको कुनै कारण भने खुलाएनन् । राजनीतिक विश्लेषकहरूले मुलुकमा देखिएको आर्थिक संकटसँग जुध्न सरकारको ‘पद्धति’लाई लिएर मन्त्रीहरूमाथि ठूलो जन दबाब रहेको बताएका छन् ।
आइतबार साँझ श्रीलंकाको सडकमा आम जनताको व्यापक विरोध प्रदर्शन भएको थियो। देशको वर्तमान अवस्थाबाट आक्रोशित जनताले राष्ट्रपति गोताबाया राजापाक्षेको राजीनामा माग गरिरहेका छन् ।
मार्च ३१ मा आक्रोशित प्रदर्शनकारीहरूले गोटाबाया राजापाक्षेको निजी निवासलाई घेरा हालेर बस र सरकारी गाडीमा आगजनी गरेका थिए। त्यसपछि सरकारले देशमा संकटकाल घोषणा गरेको थियो ।
तर पनि सामाजिक सञ्जालमार्फत सर्वसाधारणले आइतबार आन्दोलनका लागि सडकमा उत्रने घोषणा गरेका छन् । त्यसको जवाफमा सरकारले ३६ घण्टा कर्फ्यू लगाएको थियो ।
आइतबार साँझदेखि राजनीतिक वृत्तमा राजपाक्षेले आर्थिक संकटसँग जुध्न अन्तरिम सरकारको विकल्प रोज्न सक्ने चर्चा चलिरहेको छ ।






























प्रतिक्रिया लेख्नुहोस्:-