पोखरा — कास्की प्रहरीले ‘अपरेसन ३६५’ अन्तर्गत रातको समयमा मोटरसाइकल पड्काउँदै हिँडेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्याङ्जाको वालिङ नगरपालिका–७ सपौदे स्थायी वतन भई हाल पोखरा महानगरपालिका–१७ बिरौटा बस्ने २९ वर्षीय देउ बहादुर गुरुङ रहेका छन्।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार गुरुङलाई असोज २९ गते राति करिब १०ः३० बजे मोटरसाइकल पड्काउँदै हिँडेको सूचनाका आधारमा प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार मोटरसाइकल पड्काउँदै हिँड्ने गरेको भन्ने सूचनापछि जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतबाट खटिएको प्रहरी टोलीले उनलाई रोक्न खोजेको थियो। तर, प्रहरीको निर्देशन अवज्ञा गर्दै उनी चार वटा चेकपोस्टबाट भागेका थिए। त्यसक्रममा उनले प्रहरी कर्मचारीमाथि अभद्र व्यवहारसमेत गरेको प्रहरीले जनाएको छ।
प्रहरी टोलीले उनलाई पोखरा महानगरपालिका–२, बाग्लुङ बसपार्कबाट मोटरसाइकलसहित पक्राउ गरेको हो। उनी ग २२ प ६९५३ नम्बरको क्रसफायर मोटरसाइकल चलाइरहेका थिए।
पक्राउ परेका गुरुङमाथि सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुरअन्तर्गत अभद्र व्यवहारसम्बन्धी मुद्दामा अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय कास्कीबाट १० दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) बिन्द्रेश कुमार पासवानले जानकारी दिएका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

























प्रतिक्रिया लेख्नुहोस्:-