काठमाडौं /मलेसियामा श्रमिक पठाउने नाममा गैरकानुनी रूपमा रकम संकलन गरी विदेश पठाएको आरोपमा पूर्वश्रममन्त्रीसहित ६ जना पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का अनुसार ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धानका लागि उनीहरूलाई काठमाडौं, ललितपुर र सर्लाहीका विभिन्न स्थानबाट पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री तथा अछामको चौरपाटी गाउँपालिका–४ का शेरबहादुर कुँवर, सर्लाहीको चक्रघट्टा गाउँपालिकाका रामेश्वर राय यादव, तत्कालीन श्रम सचिव विनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुख उमेश ढुंगाना, राजीव पोखरेल र तत्कालीन कानुन अधिकृत निर्मला गुरुङ छन्।
सीआईबीका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार, काठमाडौंको पत्र तथा विकास रानाभाटसमेतको जाहेरीका आधारमा उनीहरूमाथि अनुसन्धान अघि बढाइएको हो।
उनीहरूमाथि ठगीसम्बन्धी कसुर तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मलेसिया सरकार र नेपाल सरकारबीच भएको समझदारी (एमओयू) विपरीत गैरकानुनी रूपमा रकम संकलन गरी विदेश पठाएको आरोप उनीहरूमाथि छ।
प्रहरीका अनुसार संकलित रकममध्ये अमेरिकी डलर ६३ लाख ७० हजार ४३९ दशमलव ९२ र बेलायती पाउन्ड ३७ लाख ६७ हजार ९८० दशमलव ८० गरी ठूलो परिमाणको रकम विदेश पठाइएको छ। उक्त कार्यबाट नेपालको अर्थतन्त्रमा प्रतिकूल असर पर्ने गरी विदेशी मुद्रा अपचलन गरेको आरोपसमेत लगाइएको छ।
संगठित समूहको लाभका लागि आफ्नो पदीय जिम्मेवारी तथा कर्तव्यविपरीत श्रमिकलाई संगठित रूपमा ठगी गर्ने कार्यमा संलग्न रहेको र गैरकानुनी रूपमा संकलित रकम मलेसिया पठाउने निर्णय प्रक्रियामा भूमिका खेलेको आरोपमा उनीहरूमाथि अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।
काठमाडौं जिल्ला अदालत, बबरमहलबाट मंसिर २ गते पक्राउ पुर्जी जारी गर्ने अनुमति लिएपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।



























प्रतिक्रिया लेख्नुहोस्:-