Your message has been sent
विजय नेपाली / पोखरा २८ माझठानकी १५ वर्षीया रुमिका नेपाली बिहान ट्युसन पढ्नका लागि घरबाट निस्किन् । कालिका बोर्डिङ स्कुल कक्षा १० मा पढ्ने रुमिकासँगै सुवेच्छा तिवारी, १३ वर्षकी असिम कडेल, १५ वर्षकी ममता तिवारीसँगै अन्य १३ जना विद्यार्थी पनि ट्युसन पढ्नका लागि बिहानै बस चढेर विद्यालयतर्फ लागे ।
उनीहरूसँगै बसमा चालक ५७ वर्षीय तुलबहादुर गुरुङ रहेका थिए । यस्तै उपचारका लागि अस्पताल आउँदै गरेका स्थानीय ६५ वर्षका बाबुराम तिवारी पनि सवार थिए ।
विद्यालयतर्फ आउँदै गरेको केही समयपछि ओख्लेको भिरमा बस खस्यो । एसइईको तयारीमा रहेका विद्यार्थीहरू ट्युसन आउँदा बस दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी रुमिका नेपाली, सुवेच्छा तिवारी, असिम कडेल, ममता तिवारी र बाबुराम तिवारीले ज्यान गुमाए । यस्तै उद्धारमा खटिएका प्रहरी जवान अर्जुन शाही पनि घाइते भए ।

दुर्घटनाले सिंगो कालिका गाउँ यतिबेला त्रासमा बसेको छ । विद्यालयको लापरवाहीका कारण दुर्घटना भएको मृतकका परिवारसँगै आफन्तहरूको गुनासो छ । रुमिकाकी आमा लक्ष्मी नेपालीले आफूले बस निकै पुरानो भएको कुरा पटक–पटक विद्यालयलाई जानकारी गराउँदै सो बस नपठाउन समेत आग्रह गरेकी थिइन् । उक्त बसलाई सो ठाउँमा ’बुढो बस’ समेत भन्ने गरेका थिए । त्यही बुढो बसले चार भविष्यका कर्णधारको ज्यान लिएको छ ।
‘धेरै नै चोटी भनेको हो सरहरूलाई, मेरो तीन वटा बच्चा पढ्छन् त्यहाँ । त्यो गाडी पहिला पनि ठोक्किएको थियो । विद्यालयको लापरवाहीले नै यो भएको हो’ उनले रुँदै भनिन्, ‘हामीले पटक–पटक भन्दा पनि त्यही पुरानो गाडी पठाउँदा आज मेरो नानीको ज्यान गयो । यो चासो नलिएर भएको हो, नानीलाई बिहान ट्युसन पढाउन पठाएको हो । हामीलाई न्याय चाहियो ।’
दुर्घटनामा चालकको कुनै लापरवाही नभएको स्थानीयहरू बताउँछन् । विद्यालयले नै पुरानो बस प्रयोग गर्दा दुर्घटना भएको हो ।

सिताराम तिवारीका अनुसार चालक पनि घाइते भएकाले चालकको लापरवाही नभएको अनुमान लगाउँछन् । दुर्घटना हेर्दा निकै कहाली लाग्दो र कोही पनि बाँच्ने अवस्थाको देखिँदैन । तर, धेरै जना घाइते मात्रै हुँदा उनले पनि राहतको सास फेरे । सोही बसमा रहेका विद्यार्थीहरूले फोन गरेपछि उनी त्यहाँ पुगेको बताउँछन् ।
‘२–३ जना बच्चाहरू माथि नै खसेरहेछन् क्या हो । उनीहरूले फोन गरेर नै हामी त्यहाँ पुग्यौँ । दुर्घटनास्थल हेर्दा त कोही पनि बच्ला जस्तो देखिँदैन । हामी त्यहाँ पुग्दा बच्चाहरू चलिरहेका थिए । घाइते बच्चाहरूलाई तत्काल उद्धार गरेर यहाँ ल्याऔँ । गाडी कच्याककुचुक छ’ उनले भने, ‘बस निकै पुरानो थियो अब दुर्घटनाको कारण के हो त्यो त अनुसन्धानबाटै थाहा होला ।’

यस्तै उद्धारमा खटिएका प्रकाश खड्काले आफूलाई देख्नेबित्तिकै चालक तुलबहादुर गुरुङले पानी खुवाउन भनेको बताए । ‘प्रकाश सर, मलाई पानी खुवाइदिनु न । अनि मैले भने पख्नु है गुरु, म बच्चाहरूलाई अलिकति सजिलो ठाउँमा राख्छु । तपाईं त सजिलो ठाउँमै हुनुहुँदो रहेछ । त्यसपछि म बच्चाहरूलाई सुरक्षित ठाउँमा राख्न तर्फ लागे । बच्चाहरूले पनि भन्दै थिए, ‘प्रकाश सर यो सपना हो कि विपना?’
प्रकाश खड्का कालिका बोर्डिङका पूर्व शिक्षक हुन् । घटना घटेलगतै त्यहाँ पुगेका उनी घाइतेहरूको उद्धारमा लागे । सोही क्रममा बोल्न सकिरहेका चालकलाई सोध्दा चालकले पुरै अँध्यारो देखे के भयो भयो हेर्दा बस खसिसकेछ भनी सुनाएको बताए । जहाँ दुर्घटना भयो त्यो दुर्घटना हुने जस्तो ठाउँ नै नभएको खड्का बताउँछन् ।

उनले बिहान निकै ठूलो आवाज आएको र टिपर खसेको अनुमान लगाएका थिए तर सोही स्थानमा पसल गर्दै आइरहेकी महिलाले यो बेला त स्कुलको बस आउँछ भनेपछि हतारिँदै त्यहाँ पुगेका थिए । ‘बसको अवस्था देख्दाखेरि मलाई एकदमै डर लाग्यो । कोही पनि जिउँदो छैनन् कि जस्तो लाग्यो,’ उनले सुनाए, ‘पछि बच्चाहरू उभिएको, हिँडेको र चलेको देखें । त्यसपछि केही सोचिनँ, बस खसेको ठाउँतिर गएँ ।’ दुर्घटनाको सुरुमा तीनजना विद्यार्थीलाई विद्यालयका प्रधानाध्यापकले स्कुलको भ्यानमा राखेर अस्पतालतर्फ पठाएको खड्काले बताए । उनीहरू बसबाट उछिट्टिएर बाहिर परेको हुन सक्ने उनको अनुमान छ ।

३ वर्षअघिको त्यो दुर्घटना र महानगरको त्यो निर्णय
वि.सं. २०८१ साउनमा पोखरा २१ कृस्ती रामदीमा एलपी देवकोटा बोर्डिङ स्कुलको बस दुर्घटना हुँदा २ जनाको ज्यान गएको थियो । उक्त घटनापपछि पोखरा महानगरपालिकाले अहिलेकै जसरी छानविन समिति गठन ग¥यो । घटनाको बारेमा पूर्ण प्रतिवेदन पेश गर्दै महानगरभित्र गुड्ने सम्पूर्ण विद्यालयका सवारी साधनहरूले अनिवार्य पालना गर्नुपर्ने सुरक्षा सर्तहरू लागु गरेको थियो । तर, ती शर्तहरु कागजमै मात्र सिमित देखिएको छ । जुन कुरा मेयर धनराज आचार्यले स्विकार गरेका छन् । शुक्रबार ओख्लेको दुर्घटनाको स्थलगत अवलोकन पश्चात पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेका मेयर आचार्यले महानगरपालिकाको तर्फबाट कमि कम्जोरी भएको स्विकार गरेका हुन् ।
‘हामीले स्कुलको बसले हरेक ६÷६ महिनामा प्राविधिक अवस्था के थियो भन्ने रिपोर्ट दिनुपर्ने थियो त्यो चाँही हामीले हेर्नुपर्छ के कति लागु ग¥यो भनेर । यो सबैले मम गर्ने कुरा हो जहाँ दुर्घटना भयो अनुमान गर्नै नसकिने ठाउँ छ’ आचार्यले भने, ‘अघिल्लो पटक पनि दुर्घटना भएको हो त्यो पछि हामीले अलि ध्यान नदिएको हो । यसमा सबै गम्भिर हुनु जरुरी छ ।’
एल.पी. देवकोटा मेमोरियल बोर्डिङ स्कुलको बस दुर्घटनाको छानबिन प्रतिवेदनलाई आधार मान्दै महानगरभित्र गुड्ने सम्पूर्ण विद्यालयका सवारी साधनहरूले अनिवार्य पालना गर्नुपर्ने सुरक्षा सर्तहरू तोकिएको थियो । विद्यालयका सबै सवारी साधनहरूको प्राविधिक जाँच (ब्रेक, टायर, इन्जिनको अवस्था) गराई ’मेकानिकल फिटनेस’ प्रमाणपत्र तथा महानगरको आधिकारिक पास स्टिकर अनिवार्य टाँस्नुपर्ने बताइएको थियो ।
यस्तै बसको तोकिएको सिट क्षमताभन्दा १ जना पनि बढी विद्यार्थी वा यात्रु राख्न नपाइने र सबै विद्यालय बसहरूको बाहिरी भाग अनिवार्य रूपमा गाढा पहेंलो रंग हुनुपर्ने र अगाडि÷पछाडि स्पष्ट कालो अक्षरमा ‘स्कुल बस’ लेखिएको हुनुपर्ने मापदण्ड लागु गरेको थियो । यस्तै विद्यालय सञ्चालन हुनुभन्दा बढीमा १ घण्टा ३० मिनेट अघिदेखि मात्र विद्यार्थी ओसारपसार गर्न पाइने र सवारी साधनमा गति सीमित गर्ने प्रविधि जडान हुनुपर्ने भनि मापदण्ड बनाएको थियो ।
सोही मापदण्डको पालन नहुँदा शुक्रबार पाँच जनाको ज्यान गएको हो । राज्य निकायबाट बनाएको मापदण्ड कार्यान्वयनमा चुक्दा विद्यार्थीले अनाहकमा ज्यान गुमाएको देखिएको छ । यसतर्फ महानगरपालिका गम्भिर हुन आवश्यक छ ।
फेरी छानविन समिति कारवाहि नहुनेमा आशंका
पोखरा महानगरपालिकाले वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको छ । समितिको सदस्यमा मेकानिकल इन्जिनियर सरोज चालिसे, महानगर शिक्षा समिति सदस्य डोलराज पाण्डे, नगर प्रहरी निरीक्षक पुरुषोत्तम थापा र ट्राफिक सहायक निरीक्षक अमृत भट्टराई छन् ।
समितिले दुर्घटनाको कारण र घटनासँग सम्बन्धित विषयहरूको विस्तृत अध्ययन तथा छानबिन गरी सत्य तथ्यसहित ५ दिन भित्र प्रतिवेदन पेस गर्ने छ । विद्यालयका सवारी साधनको सुरक्षा, विद्यार्थीको सुरक्षित आवागमन र आगामी दिनमा अपनाउनुपर्ने सावधानीका सम्बन्धमा आवश्यक सुझावसमेत प्रस्तुत गर्ने गरी समिति बनाइएको मेयर धनराज आचार्यले जानकारी दिए ।
तर, यो छानविनपछि विद्यालयलाई कारवाहि नहुनेमा पिडितका परिवारहरु शसंकित बनेका छन् । उनीहरुले विद्यालयको लापरवाहिकै कारण घटना भएकाले विद्यालय नै कारवाहिको भागिदार हुनुपर्ने मेयर आचार्यसामु माग राखेका छन् । उक्त विषयमा भने मेयर आचार्यले प्रतिवेदनले बोल्ने भन्दै हिडेका थिए । ( समाचार ढोरपाटन दैनिकबाट साभार)



























प्रतिक्रिया लेख्नुहोस्:-