एउटा नारी प्रकृति हुन। नारी सृष्टिकर्ता हुन। नारी लक्ष्मी हुन। नारी सरस्वती हुन। ओहो बाबा! सुन्दा कति आनन्द लाग्ने परिचय दिएका हामीलाई! अब एकपटक व्यवहार र अभ्यासलाई स्मरण गरौं त! भनिन्छ, हरेक पारिवारिक, सामाजिक अनि राजनैतिक सफलतामा नारीहरुको स्थान निक्कै महत्त्वपूर्ण हुनेगर्दछ।

तर जब जब हाम्रा परिवारमा, समाजमा वा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशमा नारीहरुले नेतृत्व लिनुपर्ने अवसर आउँछ तब तब हाम्रा नारी पात्रहरुलाई सदैव ओझेलमा नै पारिन्छ र भनिन्छ तिमी महिला हौं, समय दिन गाह्रो हुन्छ। बाहिर बास बस्न गाह्रो हुन्छ। बाहिर ब्रेकफास्ट, लन्च र डिनरमा सहभागी हुन अफ्ट्यारो हुन्छ, समग्रमा प्रोटोकल मिलाउन झन्झटिलो हुन्छ। यो पितृसत्तात्मक समाज हो साथीहरु। यहाँ एउटा नारी झुक्दा अर्को नारीको पनि स्वाभिमान र अभिमान झुक्नुपर्ने हो।
यो पितृसत्तात्मक समाज हो साथीहरु। यहाँ एउटा नारी झुक्दा
अर्को नारीको पनि स्वाभिमान र अभिमान झुक्नुपर्ने हो।
अनि अर्को आरोप पनि छ हामीहरुलाई! छोरी नै छोरीको सत्रु हुन्छ। यो वास्तविकता होइन। यो त तपाईं हामीलाई भ्रमित पार्न, तल झार्न यहि समाजले स्थापना गरेको कुविचार मात्र न हो। मैले कुरा जोड्न चाहे कुनै पनि संघसंगठनमा, संघसंस्थामा वा राजनैतिक प्लेटफर्महरुमा नेतृत्व लिने कुरा होस वा प्रत्यक्ष निर्वाचनमा जाने कुरा होस यी सबै स्थानमा हामी पात्र (नारी)लाई यो समाजले सदैव साधन बनाएको छ। हामीलाई केबल हतियार बनाएको छ।
स्ववियुको यस निर्वाचनमा समेत नारीहरुले सदैव फ्रन्ट लाइनमा उभिएर ब्यानर र झन्डा समाउने, ओहो कति गोरी, कति अग्ली, कति क्युट यस्तै यस्तै तारिफले मख्ख पारेर बढेमान्को चस्मा टाउकोमा भिर्न लगाएर फोटो खिचिदिने, सामाजिक संजालमा भरपुर तारिफ महसुस गराउने खालका कमेन्ट गर्ने, कसैको समर्थनमा ताली बजाउने, कसैको प्रचारप्रसार गर्ने अनि उनैलाई पकाएर खुवाएर बस्ने! यो कस्तो खालको नारी सशक्तीकरण हो ?
नेतृत्व गर्नुस। करिब एक शताब्दी अगाडि नै तपाईं हाम्रो अधिकार, न्याय, स्वतन्त्रता, समानता, स्वाभिमानका लागि योगमाया सङ्गै अरु ७० बढी नारीहरुले अरुण नदीमा आफ्नो जीवन समर्पण गरिसके। वैदिक काल, त्रेता युग र प्राचीन ईतिहासमा क्रमश: गार्गी, मैत्रेयी, सितामाता, भृकुटी जस्ता विदुषीहरुले राज्य व्यवस्थामा नारी हुँदा कस्तो हुन्छ भन्ने विषय प्रमाणित गरिसके।
आधुनिक नेपालकै इतिहासमा पृथ्वीनारायण शाहले सुरु गरेको राष्ट्र एकीकरण अभियानलाई शाहको देहावसान पछाडि राज्यलक्ष्मी शाहले आफ्नो नेतृत्वमा अगाडि बढाइन।
दुनियाँभर साम्राज्यवादको त्यस्तो प्रकारको चङ्गुलमा समेत हाम्रा देशका नारीहरु पुरुषसङ्गै युद्धको मैदानमा होमिए। नालापानीको युद्धमा त बच्चा बोकेरै युद्धमा सहभागी भएर नारीको साहस र शक्तिलाई पुष्टि गरे। पछी लोकतान्त्रिक र गणतान्त्रिक आन्दोलनहरु चाहे २००७ सालको क्रान्ति होस, चाहे निरङ्कुश निर्दलीय पन्चायती व्यवस्थाको विरुद्धमा २०४६/४७ सालको क्रान्ति होस, चाहे यो देशमा गणतन्त्र स्थापनार्थ गरिएको १० बर्ष सशस्त्र संघर्ष र २०६३ को १९ दिने जनअन्दोल्नन होस यी सबैमा नारीहरुको सक्रिय, शानदार एवं प्रत्यक्ष सहभागीता रह्याे र तिनै सहभागीताको फलस्वरूप तपाईं हामीमाझ आज यो दिन छ। मानव सभ्यतामा विभेदकारी समयदेखी आजको दिनसम्म आइपुग्दा मैले व्यक्त गर्न छुटाएका देशमा र दुनियाँमा हाम्रा निमित्त अरु धेरैले आवाज उठाइसके।
त्यसैले प्रिय चेलीहरु, आफू आबद्ध ठाँउमा आफ्नो उम्मेदवारीका लागि प्रयास गर्नुहोस् । यदि असहयोग गर्छन भने खोसेर आफ्नो अधिकार लिनुहोस। रातभर क्लब वा कुनै भट्टीमा चुरोटको ठुट्नो बालेर ,मदिराको रसगजमा डुब्दै जे पनि बोल्ने र नारीकै चरित्रहत्या गर्ने तपाईंका कुनैकुनै पुरुष नेताभन्दा तपाईं कैयौं गुणा सक्षम हुनुहुन्छ ।
लेखक विप्लवी न्यौपाने पिएन क्याम्पस कानुन संकायमा ७ औं सेमेस्टरमा अध्यानरत छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-