पोखरा / पोखरा महानगरपालिका–२३ दुण्डेफाँटमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।
दुर्घटनामा घाइते पर्वत घर भई हाल पोखरा–२४ पामे बस्ने २३ वर्षीय मिलन गुरुङको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। उनको राती २ बजेर ४२ मिनेटमा चिकित्सकले मृत्यु घोषणा गरेका हुन्।
प्रहरीका अनुसार गए राति ९:४० बजे घाटीछिनाबाट पोखरातर्फ आउँदै गरेको ग ४ च १३४४ नम्बरको बोलेरो जिप अनियन्त्रित भई दुर्घटना भएको थियो। जिप पर्वतको पैँयु गाउँपालिका–७ घर भई हाल पोखरा–२४ लौरुक बस्ने २३ वर्षीय टोकबहादुर गुरुङले चलाएका थिए।
दुर्घटनामा घाइते भएका १२ जनाको पोखरास्थित गण्डकी मेडिकल कलेज (जीएमसी) अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये अधिकांशको अवस्था मध्यम र केहीको सामान्य रहेको प्रहरीले जनाएको छ। घाइते हुनेमा ११ देखि २० वर्ष उमेर समूहका छन्।
दुर्घटनापछि प्रहरीले चालक टोकबहादुर गुरुङलाई नियन्त्रणमा लिएको छ। चालकले मादक पदार्थ सेवन गरेको खुलेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






























प्रतिक्रिया लेख्नुहोस्:-