बर्दिया / बर्दियाको बाँसगढी नगरपालिका–५ मोतिपुर जंगलमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा तीन जना गम्भीर र एक जना सामान्य घाइते भएका छन्।
मंगलबार दिउँसो करिब १ बजे भित्री सडकखण्डमा विपरीत दिशाबाट आउँदै गरेका दुई मोटरसाइकल ठोक्किएका थिए। भे ५ प ९१६१ र भे ११ प ८५६७ नम्बरका मोटरसाइकल एकआपसमा ठोक्किँदा पाँच जना घाइते भएका थिए।
दुर्घटनामा गुलरिया नगरपालिका–११ निवासी २४ वर्षीय ओमकार थारुको मृत्यु भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते थारुलाई थप उपचारका लागि भारतको लखनउ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।
दुर्घटनामा भे ११ प ८५६७ नम्बरको मोटरसाइकल चालक बारबर्दिया नगरपालिका–३ बानियाभारका २५ वर्षीय आशिष थारु र पछाडि सवार बाँसगढी नगरपालिका–७ का १८ वर्षीय रमन थारु घाइते भएका थिए। आशिषको टाउकोमा चोट लागेको छ भने रमनको टाउको र मुखमा सामान्य चोट लागेको थियो। रमनको कौशिल्या अस्पताल बाँसगढीमा उपचारपछि डिस्चार्ज भइसकेको छ।
त्यस्तै, अर्को मोटरसाइकलका चालक भारतको लौकाइ निवासी १८ वर्षीय सहाबुदिन खान र पछाडि सवार २०/२२ वर्षीय जमाल खान पनि गम्भीर घाइते भएका छन्। उनीहरू दुवैको टाउको तथा अनुहारमा चोट लागेको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न दुवै मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


























प्रतिक्रिया लेख्नुहोस्:-