एजेन्सी । इंग्ल्याण्डले इतिहास रचेको छ। डेनमार्कलाई हराउँदै इंग्ल्याण्ड पहिलो पटक युरोकपको फाइनलमा पुगेको हो।
इंग्ल्याण्ड पहिलो पटक युरो कप फुटबलको फाइनलमा प्रवेश गरेको छ। इंग्ल्याण्ड सधैँ फुटबलका ठूला प्रतियोगितामा दाबेदार टोली रहे पनि १९६६ को विश्वकप फुटबलमा पश्चिम जर्मनीलाई हराएयताको ५५ वर्षसम्म ठूला प्रतियोगिताको फाइनल खेल्न सकेको थिएन।
तर, बुधबार बिहान वेम्बली स्टेडियममा भएको सेमिफाइनलमा इंग्ल्याण्डले डेनमार्कलाई २–१ गोलले हराएको हो।
खेलमा उसका कप्तान ह्यारी केनले अतिरिक्त समयमा एक गोल गरे। त्यसअघि इंग्ल्याण्डले एक गोल आत्मघाती उपहार पाएको थियो। डेनमार्कका मिकेल डाम्सगार्डले खेलको ३० औं मिनेटमा एक गोल गर्दै अग्रता दिलाएका थिए।
अब फाइनलमा इंग्ल्याण्ड र इटली आइतबार भिडनेछन्। जारी युरोमा इंग्ल्याण्डले पहिलो खेलमा क्रोएसियालाई १–० गोलले हराएको थियो । दोस्रो खेलमा स्कटल्याण्डसँग गोलरहित बराबरी खेलेको इंग्ल्याण्डले तेस्रो खेलमा चेक रिपब्लिलाई १–० गोलले पराजित गरेर अन्तिम १६ मा प्रवेश गरेको थियो ।
अन्तिम १६ मा जर्मनीलाई २–० गोलले हराएको इंग्ल्याण्डले, क्वाटरफाइनलमा युक्रेनलाई ४–० गोलको सहज अन्तरले हराएको थियो।
प्रतिक्रिया लेख्नुहोस्:-