२० औं आहारारा गोल्डकप फुटबल प्रतियोगिताको लागि सहारा क्लब युकेले आयोजकलाई शिल्ड, मेडल र ट्रफी हस्तान्तरण गरेको छ ।
पोखरामा बिहीबार आयोजित समारोहमा सहारा युकेका सहकोषाध्यक्ष जगन गुरुङले सहारा क्लब पोखराका अध्यक्ष हरिराम गुरुङ ‘सुरज’ लाई विभिन्न विधाका शिल्ड, मेडल र ट्रफी हस्तान्तरण गरेका हुन् ।
विजेता, उपविजेता, बेष्ट प्लेयर, स्ट्राइकर, डिफेन्डर, मिडफिल्डर, कोच, किपर, प्रत्येक म्याचको म्यान अफ दि म्याचलाई सहारा युकले विगत ६ वर्षदेखि नगदसहित शिल्ड, मेडल र ट्रफी सहयोग गर्दै आएको छ ।
सहयोग हस्तान्तरण कार्यक्रममा सहारा क्लब पोखराका निवर्तमान अध्यक्ष केशवबहादुर थापा, पूर्व अध्यक्ष विक्रम थकाली, वीरभद्र आचार्य, प्रतियोगिता संयोजक केशवराज बराल, सहारा युकेका सल्लाहकार मुछेत्र गुरुङ, सहारा क्लब पोखराका मानार्थ सदस्य एवं सहारा युकेका पूर्व प्रमुख सल्लाहकार महेश गुरुङ, क्लब सदस्यहरु लगायतको उपस्थिति थियो ।
पोखरा रंगशालामा आगामी माघ ६ देखि १५ गतेसम्म हुने प्रतियोगितामा १० टिमको सहभागिता हुनेछ । आयोजकले कोरोना महामारीको कठिन परिस्थितिबीच पनि स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर प्रतियोगिता संचालन गर्ने अन्तिम तयारीमा छ ।
प्रतियोगितामा साविक विजेता संकटा क्लब, मच्छिन्द्र, मनाङ मस्र्याङ्दी, विभागीय नेपाल पुलिस, एपिएफ, नेपाल आर्मी, हिमालय शेर्पा, थिस्टार, अमेरिकाको बिवाईएससी, मिनेसोटा र आयोजक सहारा क्लब पोखराले प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगिताबाट आम्दानी १ करोड ३६ लाख र खर्च १ करोड ६ लाख हुने अनुमान क्लबको छ । बचत रकम क्लबले पोखराको दोबिल्लामा सञ्चालन गर्दै आएको सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा आश्रित बालकहरुको निम्ति खर्च गरिने छ ।



























प्रतिक्रिया लेख्नुहोस्:-