काठमाडौं : गुल्मीको धुर्कोट घर भई हाल कीर्तिपुर बस्दै आएका २२ वर्षीय विपिन घिमिरे आफ्नै साथीबाट मारिएका छन्। उनलाई बुधबार दिउँसो २ः२० बजे कीर्तिपुर–१०, पोडेटोलमा बोलाएर केही व्यक्तिहरूले खुकुरी प्रहार गरेका थिए। दिउँसो साढे २ बजे त्यहाँ पुगेका थिए। कीर्तिपुर गुम्बाभन्दा केही माथि मानिसहरूको भीडभाड हुने स्थानमै युवकको हत्या भएपछि उपत्यकाको सुरक्षा संवेदनशीलतामाथि पनि प्रश्न उठेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार घिमिरेमाथि धारिलो हतियार प्रहार गरी हत्या गरिएको घटनामा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरिएको हो। प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको टोलीले अछाम साँफेबगर नगरपालिका–४ घर भई हाल कीर्तिपुर–९ भाजंगल बस्ने २५ वर्षीय महेन्द्र शाह, कैलाली बर्दगोरिया गाउँपालिका–४ घर भई हाल कीर्तिपुर–१० पाँगा दोबाटो बस्ने २३ वर्षीय रवीन्द्र धामी तथा कैलाली घोडाघोडी नगरपालिका–१ घर भई हाल कीर्तिपुर–८ सिनेमा हल बस्ने २२ वर्षीय रोशन बिष्टलाई पक्राउ गरेको हो।
प्रहरीले पक्राउ परेका तीनै जनाविरुद्ध ज्यानसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिई अनुसन्धान अघि बढाइएको जनाएको छ। ‘उनलाई बुधबार दिउँसो पटक–पटक फोन गरेर कोही व्यक्तिले त्यहाँ बोलाएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ, हत्या गर्नेहरू विपिनका चिनेजानेकै हुन्,’ उनले भने।
विपिनको घर रहेको धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलका अनुसार घिमिरे परिवार केही वर्षअघिदेखि नै काठमाडौं बसाइँ सरेको थियो। विपिनका बुबा भारतमा काम गर्छन् भने उनी आमा र दाजुका साथ कीर्तिपुरमा बस्दै आएका थिए। पढाइमा समेत अब्बल रहेका विपिनले ऋणधन गरेर श्रीमतीलाई केही समयअघि मात्र जापान पठाएका थिए र आफू पनि जापान जाने तयारीमा थिए। उनका आमा र दाजु काठमाडौंकै निजी कम्पनीमा काम गर्छन्। विपिनको हत्याले उनको गाउँसमेत शोकाकुल बनेको छ।
विपिनलाई दिनदहाडै खुकुरी प्रहार गर्नेहरू आपराधिक पृष्ठभूमिका रहेको खुलेको छ। बुधबार ३ जना मिलेर खुकुरी प्रहार गर्दा उनको मृत्यु भएको थियो। हत्यामा संलग्नमध्ये एक जना सोमबार मात्रै प्रहरी हिरासतबाट छुटेका व्यक्ति हुन् भने अन्य पनि आपराधिक पृष्ठभूमिका छन्।
धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका घिमिरेको उपचारका क्रममा देवढोकास्थित कीर्तिपुर अस्पतालमा मृत्यु भएको थियो। सीसीटीभी फुटेजमा घटनास्थलमा सुरुमा ४ जना र पछि थप एक जना आएको देखिन्छ। प्रहरीका अनुसार प्रत्यक्ष रूपमा हत्यामा तीन जना संलग्न थिए।
फोनमा बोलाएर पोडेटोल पुगेका विपिनलाई पछाडिबाट खुकुरी प्रहार गरिएको थियो। खुकुरी प्रहारपछि उनी भुइँमा ढलेका थिए भने आरोपीहरू फरार भएका थिए। महेन्द्रनगर घर भएका ‘राज’ भनिने राजेन्द्र विष्टले खुकुरी हानेको र उनी नै घटनाको मुख्य योजनाकार रहेको प्रहरीको अनुमान छ। विष्ट हत्या लगत्तै भागेर ग्वार्को पुगेको उनको ‘कल रेकर्ड’बाट देखिएको थियो।
























प्रतिक्रिया लेख्नुहोस्:-