पोखरा, कास्की जिल्ला फुटबल संघको आयोजनामा क्ल्ब लिग फुटबल प्रतियोगिता आजदेखी सुरु भएको छ । पोखरा–२५ हेम्जा स्थित गौरीशंकर फुटबल मैदानामा भएको उद्घाटन खेलमा डिफेन्डिङ लिग च्याम्पियन आदर्श क्लब भण्डारढिकले हेम्जा युनाइटेड क्लबले १–१ गोलको बराबरी खेल्दै अंक बाडेको छ ।
निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरिमा सकिएपछी आदर्श अंक बाड्न बाध्य भएको हो । आदर्शका लागि विकास परियारले गोल गरेका थिए भने हेम्जाका लागि रोहित नेपालीले गोल गरे ।
यस्तै सोमबार नै सम्पन्न दोस्रो खेलमा इन्द्रेणी क्लबले फुलबारी क्लबलाई ४–२ को गोल अन्तरले हराउँदै सान्दार सुरुवात गरेको छ । इन्द्रेणीको जितमा नविन लामाले २ तथा कुमार लामा र प्रवेश ठकुरीले समान १÷१ गोल गरे ।
फुलबारीका लागि दुवै गोल र्विटन आलेले गरे । जितसंगै इन्दे्रणीले ३ अंक जोड्न सफल भएको छ । लिग कम नकआउटका आधारमा खेलाइएको प्रतियोगितालाई मुख्य प्रायोजन सावित्री निर्माण सेवा प्रा.लि.ले गरेको छ ।
कास्की जिल्ला फुटबल संघमा आबद्ध भएका २२ क्लबहरु बिच लिग संचालन गरिएको हो । २२ क्लबलाई ४ समुहमा विभाजन गरिएको छ । प्रत्येक समुहको विजेता र उपविजेता दोस्रो चरणमा प्रवेश गर्नेछन् ।
गण्डकी प्रदेश खेलकुद परिषद् उपाध्यक्ष ध्वज कुमार गुरुङले रेफ्रीलाई बल हस्तान्तरण गर्दै लिगको उद्घाटन गरेका थिए ।
खेलकुदलाई अब व्यवसायीकरण गरेमा मात्र खेलाडीको खेल प्रती मोह बढ्नेछ । त्यसैले अब खेलकुदलाई मनोरञ्जनको रुपमामात्र होइन व्यवसायको रुपमा अघि बढाउन सबैले सहयोग गर्नुपर्ने छ’ उनले भने । कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङले संघ निरन्तर फुटबलको विकासमा लागि परेको सुनाए ।

























प्रतिक्रिया लेख्नुहोस्:-