काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यीले आफ्नो तीन दिने नेपाल भ्रमण पुरा गरेर स्वदेश फर्किएका छन् ।
नेपालको तीनदिने औपचारिक भ्रमणको समापन गर्दै चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यी र उनको प्रतिनिधिमण्डल आज बेइजिङ प्रस्थान गरेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव भरतराज पौड्याललगायत परराष्ट्र मन्त्रालयका अधिकारीले बिदाइ गरेका छन् ।
विदेशमन्त्री वाङले आज बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका थिए । सो अवसरमा नेपाल–चीन सम्बन्धका विविध विषयमा छलफल भएको थियो । त्यस्तै वाङले आजै पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग र पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टा छुट्टै भेटवार्ता गरेका थिए ।
शुक्रबार काठमाडौँ आएका विदेशमन्त्री वाङले शनिबार परराष्ट्रमन्त्री स्तरीय द्विपक्षीय वार्तामा सहभागी भएका थिए भने शनिबार नै प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए । भ्रमणका क्रममा नेपाल र चीनका परराष्ट्रमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलबीच शनिबार द्विपक्षीय वार्ता हुनुका साथै दुवै देशका सम्बद्ध अधिकारीले पारस्परिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी नौ समझदारीमा हस्ताक्षर गरेका थिए ।






























प्रतिक्रिया लेख्नुहोस्:-