काठमाण्डौ – नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सार्वजनिक यातायातको भाडा आफैँले बढाउने चेतावनी सरकारलाई दिएको छ । महासङ्घका महासचिव सरोज सिटौलाले पेट्रोलियम पदार्थको मूल्य वृद्धि पटक–पटक हुँदा पनि सरकारले सार्वजनिक यातायातको भाडा नबढाएको भन्दै व्यवसायी आफैँले बढाउने चेतावनी दिनुभएको हो ।
सरकारले पछिल्लो समय लगातार पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवसायीले सार्वजनिक सवारीको भाडा दर समायोजन गर्न सरकारलाई दबाब दिँदै आएको छ । आज आइतवार न्युज एजेन्सीसँग कुरा गर्दै महासङ्घका महासचिव सिटौलाले सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएअनुसार सार्वजनिक यातायातको भाडा समायोजन नगरे व्यवसायी आफैँले भाडा समायोजन गर्ने बताउनुभयो । उहाँले महासङ्घको बैठक बसेर यही फागुन २५ गतेसम्म सरकारले नयाँ भाडा समायोजन नगरे व्यवसायी आफैँले भाडा बढाउने निर्णय गरिसकेको जानकारी दिनुभयो ।
यातायात व्यवसायीहरूले सरकारलाई भाडा समायोजन तथा मूल्य वृद्धि गर्न बारम्बार निवेदन गरे पनि सरकारले बेवास्ता गरिरहेको महासचिव सिटौलाको भनाइ छ । उहाँले २५ गतेभित्र सार्वजनिक यातायातको वैज्ञानिक भाडा दर समायोजन नगरे सवारीसाधन चल्न नसक्ने बताउनुभयो । सिटौलाले सरकारले यातायात व्यवसायीहरूको मागको सुनुवाइसमेत नगरि नतमस्तक भएर बसेको तर्क गर्नुभयो ।
सार्वजनिक सवारीसाधन तल्लो वर्गका जनताले उपयोग गर्ने भन्दै सिटौलाले १० अर्ब रुपैयाँ लगानी भएको क्षेत्र सरकारले समाप्त पार्न खोजेको दाबी गर्नुभयो । उहाँले पेट्रोलियम पदार्थमा पछिल्लो पटक बढेको भाडादारको अनुपातमा सार्वजनिक यातायातको पनि भाडा बढाउनुपर्ने माग गर्नुभयो । पेट्रोलियम पदार्थको मूल्य वृद्धिको कारण धेरै व्यवसायीहरूले मालवाहक सवारीसाधन ग्यारेजमा थन्काएर राख्न थालेको महासचिव सिटौलाले बताउनुभयो ।
पछिल्लो समय डिजल–पेट्रोलको मूल्य वृद्धि भएर नयाँ रेकर्ड कायम गर्न थालेपछि यातायात व्यवसायीले मूल्य वृद्धि फिर्ता लिन वा भाडा समायोजन गर्न माग गर्दै आएका छन । सरकारले गएको बिहीवार राति मात्रै पेट्रोल र डिजलमा पाँच–पाँच रुपैयाँ प्रतिलिटरका दरले मूल्य बढाएको थियो । अहिले पेट्रोलको मूल्य प्रति–लिटर १ सय ५० रुपैयाँ र डिजल प्रति–लिटर १ सय ३३ रुपैयाँ पुगेको छ ।






























प्रतिक्रिया लेख्नुहोस्:-