रुपन्देही — देउसीभैलो कार्यक्रममा अश्लील नृत्य प्रदर्शन गर्ने दुई युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपाली मौलिक कला, संस्कृति तथा सामाजिक शिष्टाचार र नैतिकताविपरीत हुने गरी देउसीभैलो कार्यक्रममा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार गत कात्तिक २६ गते राति करिब १२ बजेर ५ मिनेटमा लुम्बिनी सांस्कृतिक नगरपालिका–१० महिलवार बजारबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो। इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा रुपन्देहीको देवदह नगरपालिका–७ निवासी ३० वर्षीया चाहना थापा र सर्लाहीको हरिवन नगरपालिका–३ निवासी २९ वर्षीया प्राप्ति बस्नेत रहेका छन्।
उनीहरूमाथि सार्वजनिक हित र नैतिकताविरुद्धको कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
प्रहरीले परम्परागत देउसीभैलो कार्यक्रम नेपाली मौलिक कला, संस्कृति र सामाजिक सद्भावको संरक्षण हुने गरी सञ्चालन गर्न आग्रह गरेको छ। साथै, सार्वजनिक कार्यक्रममा स्वेच्छिक र अमर्यादित तरिकाले अश्लील नृत्य, गीत तथा संगीत प्रदर्शन गरे प्रचलित कानुनअनुसार कारबाही हुने चेतावनीसमेत दिएको छ।



























प्रतिक्रिया लेख्नुहोस्:-