पोखरा – रसुवा–भोटेकोसी क्षेत्रमा आएको बाढी तथा विपद् प्रभावित नागरिकहरु को राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले भारतीय भूतपूर्व सैनिक गोरखा ब्रिगेड नेपाल पोखराले २४ लाख ३३ हजार ९ सय ५२ रुपैयाँ संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ।
नेपालका विभिन्न स्थानमा रहेका भारतीय भूतपूर्व सैनिकहरूले विपद्को समयमा गर्दै आएको सहयोग अभियानअन्तर्गत हालसम्म २ करोड रुपैयाँभन्दा बढी रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरिसकेको जनाइएको छ। सोही अभियानलाई निरन्तरता दिँदै पोखरामा रहेका भारतीय भूतपूर्व सैनिकहरूले समेत रकम संकलन गरी कोषमा जम्मा गरेका हुन्।
भारतीय भूतपूर्व सैनिक गोरखा ब्रिगेड नेपाल पोखराका अध्यक्ष कर्नेल कृष्णबहादुर खत्रीको संयोजनमा पोखरामा रहेका विभिन्न पल्टन को अध्यक्ष तथा प्रतिनिधिहरूसँग छलफल गरी राहत संकलन अभियान सञ्चालन गरिएको थियो। अभियानमा सहभागी भारतीय भूतपूर्व सैनिकहरूले आफ्ना पल्टनका सदस्य, परिवारजन तथा शुभेच्छुकमार्फत सहयोग जुटाएका थिए।
संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिसकेपछि त्यसको पूर्ण विवरणसहित कास्की जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराउने उद्देश्यले आज औपचारिक कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा कुन–कुन संस्था तथा व्यक्तिबाट कति रकम संकलन भएको हो भन्ने विवरणसमेत सम्बन्धित निकायलाई उपलब्ध गराइएको जनाइएको छ।
अध्यक्ष कर्नेल खत्रीले देशमा विपद् परेको समयमा भारतीय भूतपूर्व सैनिकहरू एकजुट भएर सरकार र नागरिकसँग हातेमालो गर्न सधैँ तयार रहेको बताउनुभयो। आफ्ना तर्फबाट गरिएको सहयोगले विपद् प्रभावित नागरिकहरु को राहत तथा पुनःस्थापनामा केही भए पनि योगदान पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो।
उहाँले भन्नुभयो, “देशलाई अप्ठ्यारो परेको समयमा हामी भारतीय भूतपूर्व सैनिकहरू एकजुट भएर सहयोग गर्न सधैँ तत्पर छौँ। हाम्रो सानो योगदानले पनि विपद् प्रभावित नागरिकको घाउमा मलम लगाउन सहयोग पुगोस् भन्ने हाम्रो उद्देश्य हो।”
भारतीय भूतपूर्व सैनिकहरू विभिन्न संस्थामार्फत सामाजिक तथा मानवीय सेवाका क्षेत्रमा सक्रिय रहँदै आएका छन्। आगामी दिनमा पनि देश तथा समाजलाई आवश्यक परेको अवस्थामा एकजुट भएर सहयोग गर्ने र सामाजिक सेवाका गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता उनीहरूले जनाएका छन्।
विपद् राहतमा मात्र सीमित नभई शिक्षा, स्वास्थ्य, मानवीय सेवा तथा अन्य सामाजिक क्षेत्रमा समेत आफ्नो क्षमता र स्रोतअनुसार योगदान गर्दै आएको बताउँदै भूतपूर्व सैनिकहरूले देशको सकारात्मक परिवर्तनका लागि सामूहिक रूपमा अघि बढ्ने बताएका छन्।
यसैबीच, रसुवा–भोटेकोसी बाढीमा परी ज्यान गुमाएका नागरिकप्रति भारतीय भूतपूर्व सैनिक गोरखा ब्रिगेड नेपाल पोखराले श्रद्धाञ्जली व्यक्त गरेको छ। प्रभावित परिवारप्रति समवेदना प्रकट गर्दै आगामी दिनमा पनि आवश्यक सहयोग र सहकार्यका लागि आफूहरू सदैव तत्पर रहने प्रतिबद्धता व्यक्त गरिएको छ।
प्रकाश कुमार श्रेष्ठ,




























प्रतिक्रिया लेख्नुहोस्:-