पोखरा — त्रिशूली नदी आसपासका प्रभावित क्षेत्रमा नेपाली सेनासहितका सुरक्षा निकायले खोज तथा उद्धार कार्यलाई तीव्रता दिएका छन् । भदौ १९ गते साँझ ७ बजेसम्म विभिन्न प्रभावित क्षेत्रबाट हवाई माध्यमबाट ५८ जनाको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ ।
सेनाका अनुसार नेपाली सेनाका सात र गैरसैनिकतर्फका ६ वटा हवाई साधन परिचालन गरी उद्धार गरिएको हो ।
त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको खोज तथा उद्धारका क्रममा दुई जनालाई जीवितै उद्धार गरिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र विज्ञसहितको संयुक्त टोलीले उनीहरूलाई उद्धार गरी हेलिकप्टरमार्फत काठमाडौंस्थित वीरेन्द्र अस्पताल छाउनी ल्याएको हो । दुवैको उपचार भइरहेको सेनाले जनाएको छ ।
खोजीका क्रममा उक्त सुरुङबाट एक शवसमेत निकालिएको छ । सुरुङभित्र अझै खोज तथा उद्धार कार्य जारी रहेको छ ।
त्रिशूली–३ बी जलविद्युत् आयोजनामा पनि नेपाली सेना, गैरसैनिक जनशक्ति तथा आयोजनाका प्रबन्ध निर्देशकसहितको टोली परिचालन गरिएको छ । कार्यालय तथा आवास रहेको क्षेत्रमा करिब १५ फिट गहिरो खाडल खनेर खोजी गरिए पनि हालसम्म केही फेला परेको छैन । त्रिशूली–३ ए सँग ‘लिङ्कअप’ गराउन एक्स्काभेटर प्रयोग गरी करिब ७ सय मिटर बाटो सफा गरिएको छ ।
लाङटाङ हाइड्रोपावरको सुरुङभित्र खोजीका क्रममा दुई शव फेला परेका छन् । नेपाली सेना र गैरसैनिक जनशक्तिसहितको संयुक्त टोलीले सुरुङभित्र प्रवेश गरी शव फेला पारेको हो । त्यहाँ थप खोजी भइरहेको छ ।
चिलिमे हाइड्रोपावरमा भने विदेशी प्राविधिकसहितको संयुक्त टोलीले जेनेरेटर र ‘मड पम्प’ प्रयोग गरेर सुरुङभित्र जमेको लेदो हटाउने काम गरिरहेको छ । टोली करिब १ सय मिटरभित्रसम्म पुगेको सेनाले जनाएको छ ।
माथिल्लो त्रिशूली–१ को हाकुस्थित सुरुङमा पनि नेपाली सेना र आयोजनाका प्रतिनिधिसहितको टोलीले र्याफ्ट र बोट प्रयोग गरेर खोजी गरिरहेको छ । सुरुङभित्र जम्मा भएको पानी बाहिर निकाल्ने कामसमेत भइरहेको छ ।
यसैबीच, देवीघाटस्थित तादी नदीमा पुल जडानका लागि नेपाली सेनाको इन्जिनियरिङ फौजका ५५ जना खटिएका छन् । टोलीले पुल जडानका लागि आधार निर्माणको काम गरिरहेको छ । गजुरीमा रहेको ‘एक्रो ब्रिज’ का केही सामग्री त्रिशूली पुर्याइसकिएको र थप सामग्री ढुवानी भइरहेको सेनाले जनाएको छ ।
प्रभावित क्षेत्रमा जमिनबाट समेत खोज तथा उद्धार कार्य जारी छ । जंगल, डाँडा, खोला तथा बस्ती क्षेत्रमा पैदल गस्ती गर्दै स्थानीयलाई सुरक्षा प्रत्याभूति दिलाउने तथा आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउने काम भइरहेको छ ।
सेनाका अनुसार रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन हुँदै नवलपरासी पूर्वसम्मका प्रभावित क्षेत्रमा ९ हजार ३ सयभन्दा बढी सैनिक प्रत्यक्ष रूपमा परिचालन भएका छन् । उनीहरूले घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, अवरुद्ध सडक खुलाउने तथा आपत्कालीन उपचारलगायतका काम गरिरहेका छन् ।



























प्रतिक्रिया लेख्नुहोस्:-