पोखरा । तनहुँको शुक्लागण्डकी–२, दगाम गाउँको चिनारी दृश्यावलोकनमा मात्र सीमित छैन यहाँको मगर समुदायको मौलिक जीवनशैली, खानपान र आतिथ्यले जोकोहीको मनै लोभ्याउँछ । दमागलाई गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल (भिटोफ) गण्डकी प्रदेशले गन्तव्य गाउँको रुपमा सिफारिस गरेसँगै यसको चर्चा झनै चुलिएको छ ।
भिटोफले बर्सेनि तीनवटा गाउँलाई गन्तव्य गाउँका रूपमा सिफारिस गर्ने गरेकोमा यसपालि दगाम सूचीमा परेको हो । ‘हरेक गाउँ पर्यटकीय ठाउँ’ भन्ने नाराका साथ गाउँलाई पर्यटनसँग जोड्ने अभियानमा आफूहरू लागिपरेको भिटोफका अध्यक्ष रमेश अर्यालले बताए । अन्नपूर्ण हिमालको पदयात्राको प्रवेशद्वार तथा पहाडैपहाडका गाउँ भएकाले गण्डकी प्रदेशमा गाउँ पर्यटनको सम्भावना धेरै रहेको उनले बताए ।
गण्डकीबाट विगतमा गन्तव्य गाउँका लागि सिफारिस भएका गाउँमध्ये अधिकांशमा गुरुङ समुदायको बस्ती रहेको गाउँको बाहुल्यता थियो । तर यहाँका २३ घरमध्ये २० घर मगर र तीन घर मात्र गुरुङ समुदायको रहेको छ । गाउँको विशेषता मगर समुदायको मौलिक भेषभूषा, नाचगान, संस्कृति
२०६५ सालमा सिरुबारी गाउँ अवलोकन गरेपछि गाउँलेहरू मिलेरै दगाम सामुदायिक होमस्टे सुरु गरेका थिए । होमस्टे संयोजक नन्द थापाले पोखरासहित भैरहवा, बुटवल, नारायणगढ तथा काठमाडौंबाट समेत पाहुना आउन थालेको बताए । चारैतिर खुलेको डाँडाबाट दृश्यावलोकन गर्न सकिने तथा एउटै स्थानबाट धौलागिरि हिमालका विभिन्न चुचुरादेखि गणेश हिमालसम्म देख्न सकिने भएकाले दगाम पर्यटकको रोजाइमा पर्न थालेको बताए । पाहुनालाई कोदो, मकै, पिँडालु, सिस्नुलगायत स्थानीय उत्पादनबाट तयार पारिएका परिकारसँगै गाउँमै उत्पादित मह खुवाउने गरिएको उनले बताए ।
आन्तरिक पर्यटक मुना कोइरालाले उत्तरमा मनोरम हिमश्रृंखला, डाँडाकाँडा र प्राकृतिक दृश्यले आकर्षित गरेको र स्थानीय अर्गानिक उत्पादनबाट तयार परिकार खुवाउने शैलीले नयाँ अनुभव दिएको बताइन् । स्थानीय सांस्कृतिक नृत्य साथै समुदायको संस्कृतिलाई नजिकबाट बुझ्ने अवसरसमेत पाएको बताइन् ।
शुक्लागण्डकीका मेयर कृष्णराज पण्डितले दगाम होमस्टेलाई नगरपालिकाले राष्ट्रिय तथा प्रादेशिक प्राथमिकतामा राखेर विकास गरिरहेको जानकारी दिए । सरसफाइ, सुरक्षा, इन्टरनेटलगायत आवश्यक सुविधा विस्तार गर्नुका साथै पर्यटनसम्बन्धी निकाय र पोखरा महानगरपालिकासँग सहकार्य गरेर पोखराबाट पर्यटक ल्याउने प्रयास भइरहेको उनले
बताए ।
यसैबीच, भिटोफ गण्डकीले दगाममा असोज ५ र ६ गते घरबास प्रवद्र्धन कार्यक्रम गरेको छ । ४७ औं विश्व पर्यटन दिवस अवसरमा डिजिटल एजेण्डा र कृत्रिम बुद्धिमतामार्फत पर्यटनको नयाँ स्वरुप निर्माण नाराका साथ दगाम सामुदायिक होम स्टेको स्थानीय आयोजनामा उक्त कार्यक्रम भएको हो । कार्यक्रममा भिटोफ गण्डकीका संस्थापक अध्यक्ष तारानाथ पहारी, उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेशका शाखा अधिकृत रामहरि ढुंगाना, पोखरा महानगरपालिका आर्थिक महाशाखा प्रमुख मनहर कडरिया, भिटोफ गण्डकीका सल्लाहकार टिकाराम सापकोटा र पोखरा पर्यटन परिषद्का उपाध्यक्ष हरेराम अधिकारीले विश्व पर्यटन दिवसको महत्त्व र ग्रामीण पर्यटनले स्थानीय अर्थतन्त्रमा पु¥याउने योगदानबारे धारणा राखेका थिए ।
हाइकर्स क्लब नेपाल, नेपाल पर्यटन बोर्ड, नेपाल पंछि समाज, टुर एण्ड ट्राभल्स एसोसिएसन, पोखरा महानगरपालिका आर्थिक महाशाखा र पोखरा व्यवसाय प्रवद्र्धन केन्द्रलगायतका संघसंस्थाका प्रतिनिधि सहभागी थिए । भिटोफ गण्डकीका प्रथम उपाध्यक्ष विश्वराज अधिकारीले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम सचिव विशाल पौडेलले सञ्चालन गरेका थिए ।



























प्रतिक्रिया लेख्नुहोस्:-