नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट बर्खास्तमा परेका कुलमान घिसिङले आफ्नो आठ वर्षको कार्यकालमा प्राधिकरणलाई नाफामा लैजानेदेखि विद्युत्को पहुँच विस्तारसम्मका काम गरेका छन् ।

मुलुकले १५ देखि १८ घण्टासम्म लोडसेडिङ व्यहोरेको अवस्थामा उनले पहिलो कार्यकालमै आम उपभोक्ताले लोडसेडिङ खेप्नुपरेको बाध्यतालाई हटाएका थिए । यद्यपि, उनलाई उद्योगमा लोडसेडिङ गराएर घर(घरमा विद्युत् पुर्याएको आरोप लाग्दै आएको छ ।
उनी दोस्रो कार्यकालका लागि नियुक्ति हुँदा विद्युत्को पहुँच ५८ प्रतिशत रहेकोमा हाल ९९ प्रतिशत पुर्याएको कुलमानको दाबी छ । बर्खास्तमा परेको दिन कुलमानले आर्थिक रूपमा सीमान्तकृत चेपाङ तथा मुसहर समुदायलाई विद्युत्को पहुँच पुर्याउँदै निस्शुल्क विद्युत् जडान गरिरहेका थिए ।
आर्थिक वर्ष २०७२/०७३ मा प्राधिकरणको सञ्चित घाटा ३५ अर्ब रहेकोमा आर्थिक वर्ष २०७३/०७४ बाट प्राधिकरणलाई निरन्तर नाफामा लगेको दाबी कुलमानको छ । आर्थिक वर्ष २०८०/०८१ मा प्राधिकिरणको सञ्चित नाफा ४७ अर्ब पुगेको छ ।
आर्थिक वर्ष २०७२/०७३ मा प्राधिकरणको कुल सम्पत्ति २५७ अर्ब रूपैयाँ रहेकोमा हाल यो सम्पत्ति ६३२ अर्ब पुगेको प्राधिकरणको तथ्याङ्क छ ।
प्राधिकरणले स्थापना कालदेखि २०७२/०७३ सम्म नेपाल सरकारलाई विभिन्न शिर्षकमा २६ अर्ब भुक्तानी गरेकोमा कुलमानको दुई कार्यकालमा सावाँ, ब्याज, कर तथा रोयल्टीसमेत गरी ८२ अर्ब भुक्तानी गरेको छ ।
आठ वर्षको अवधिमा प्राधिकरणले एक खर्ब रूपैयाँ उत्पादन, प्रसारण र वितरण संरचनामा लगानी गरेको छ । यस्तै, सहायक र सम्बद्ध कम्पनीमा करिब ५७ अर्ब रूपैयाँ लगानी गरेको प्राधिकरणको रेकर्ड छ । प्राधिकरणले गत आर्थिक वर्षमा विद्युत् आयातभन्दा बढी निर्यात गरेको थियो । उनको कार्यकालमा १९ अर्बको विद्युत् निर्यात भएको रेकर्ड छ ।
आफ्नो कार्यकालमा विद्युत् चुहावट १२.७३ प्रतिशतले कम गर्न सफल भएको कुलमानको दाबी छ । आफ्नो कार्यकालमा विद्युत् उत्पादन क्षमतालाई ४ गुणाले वृद्धि गरेको कुलमानको जिकिर छ ।
आर्थिक वर्ष २०७२/०७३ मा कुल विद्युत् उत्पादन क्षमता ८५६ मेगावाट रहेकोमा आर्थिक वर्ष २०८०/८१ मा ३५०० मेगावाट पुर्याइएको छ । निजी क्षेत्रले उत्पादन गरेको विद्युत्को बजार सुनिश्चितता गर्दा उत्पादन वृद्धि भएको हो । ८ वर्ष अघि २ हजार ८ सय मेगावाटको मात्र विद्युत् बिक्री सम्झौता गरिएकोमा हाल निजी क्षेत्रको करिब ११ हजार मेगावाटभन्दा बढी आयोजनाहरुको विद्युत् खरिद सम्झौता सम्पन्न भएको हो ।
यस्तै सौर्य विद्युत् उत्पादनलाई आफूले प्राथामकितामा राख्दा प्राधिकरण आफैँ र निजी क्षेत्रबाट करिब १५० मेगावाटको विद्युत् उत्पादन भएको कुलमानको भनाइ छ । ९५० मेगावाटको सौर्य विद्युत् खरिद बिक्री सम्झौता प्रक्रिया पनि उनकै कार्यकालमा अघि बढेको थियो ।
करिब पाँच हजार मेगावाटको जलविद्युत् आयोजनाहरू निर्माणका लागि प्राधिकरणले लगानी बढाएको छ । प्राधिकरणको सहायक कम्पनीमार्फत १४० मेगावाटको तनहुँ जलाशययुक्त, ४० मेगावाटको राहुघाट र ३७ मेगावाटको माथिल्लो त्रिशूली ३ बी, रोलवालिङ २० मेगावाटका आयोजनाहरु निर्माणाधीन छन् । प्राधिकरणको सहायक कम्पनी चिलिमेको अगुवाइमा निर्माणाधीन २७० मेगावाटका आयोजनाहरु सञ्चालनको अन्तिम चरणमा छन् । चिलिमे जलविद्युत् कम्पनीले करिब ३०० मेगावाटका थप जलविद्युत् आयोजनाहरु अगाडि बढाएको छ ।
४२ मेगावाटको माथिल्लो मोदी ‘ए’, १८.२ मेगावाटको माथिल्लो मोदी, २१० मेगावाटको चैनपुर सेती, ९९ मेगावाटको तामाकोशी पाँचौको निर्माण सुरु भएको छ । एक हजार ६३ मेगावाटको माथिल्लो अरुण र ६७० मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाहरु वित्तीय व्यवस्थापन गरी निर्माणमा जाने अवस्थामा पुगेका छन् ।
६८३ मेगावाटको सुनकोशी ३ जलाशययुक्त जलविद्युत् आयोजनालाई भने नेपाल र बङ्गलादेशका सरकारी निकायको लगानीमा निर्माण गर्ने गरी अगाडि बढाइएको छ । त्यस्तै, दक्षिण एसियाली क्षेत्रकै नमुना परियोजनाका रुपमा अगाडि बढाउन सकिने १० हजार ८०० मेगावाटको कर्णाली ९चिसापानी० बहुउद्देश्यीय जलाशययुक्त आयोजनाको विस्तृत अध्ययन प्रक्रियामा छ ।
यस्तै, देशका विभिन्न ठाउँमा करिव ४२ हजार मेगावाटका पम्प स्टोरेज जलविद्युत् आयोजनाहरुको पहिचान गरी केही उत्कृष्ट आयोजनाहरुको थप अध्ययन अगाडि बढाइएको छ ।
प्राधिकरणले देशका प्रमुख शहरहरुलाई ११ वटा प्रमुख क्लस्टरमा विभाजन गरी सन् २०५० सम्मको मागलाई आपूर्ति गर्न सक्नेगरी प्रसारण र वितरण संरचनाको गुरुयोजना तयार गरी कार्यान्वयनमा लगेको कुलमानको दाबी छ ।
आर्थिक वर्ष २०७२/०७३ मा वितरण लाइनतर्फ १ लाख २१ हजार सर्किट कि।मी। रहेकोमा हाल २ लाख २० हजार सर्किट कि.मी. पुगेको छ भने वितरण सवस्टेशन क्षमता ६४० एमभिए बाट करिव ३ हजार एमभिए पुगेको छ। काठमाडौं, भक्तपुर, ललितपुर, पोखरा र भरतपुर महानगरपालिकालगायतका मुख्य शहरमा विद्युतीय तार भूमिगत गर्ने कार्य सम्पन्न हुने चरणमा छ ।
प्रतिक्रिया लेख्नुहोस्:-