काठमाडौँ — पश्चिम नेपालको जाजरकोट तथा रुकुममा गएको विनाशकारी भूकम्पबाट पुर्याएको जनधनको क्षतिमा विभिन्न संघसंस्थाले सहयोग गर्ने क्रम निरन्तर छ । यसैक्रममा सानिमा बैंक, भीजी फाउन्डेसन, एनआईसी एसिया बैंक, नबिल बैंक, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशलगायतले सहयोग घोषणा गरेका छन् ।
पीडितको उद्धार एवम् घाइतेको उपचारमा सहयोग पुर्याउने गरी सानिमा बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमार्फत २५ लाख रुपैयाँ दिने निर्णय गरेको छ । यसैगरी भीजी फाउन्डेसनले भूकम्पपीडितका लागि २१ लाख सहयोग गर्ने भएको छ ।
एनआईसी एसिया बैंकले पनि प्रभावित क्षेत्रमा राहत सहयोगका लागि प्रधानमन्त्री दैवीप्रकोप राहत उद्धार कोषमा ५१ लाख सहयोग हस्तान्तरण गरिसकेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
नबिल बैंकले पनि प्रभावित क्षेत्रका जनताको उद्धार तथा राहतका लागि एक करोड रुपैयाँ बराबरका राहत सामग्री उपलब्ध गराएको छ । जिल्ला विपद् व्यवस्थापन समिति, जाजरकोटद्वारा सञ्चालित एकद्वार राहत संकलन र वितरण केन्द्रलाई बैंकको प्रतिनिधित्व गर्दै प्रमुख बजार अधिकृत कृष्ण सुवेदीले सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत हस्तान्तरण गरे ।
यसैबीच भूकम्पबाट जनधनको ठूलो क्षति भएकामा नेपाल उद्योग वाणिज्य महासंघ, कोशीले प्रदेशका सबै जिल्लारनगर उद्योग वाणिज्य संघ, वस्तुगत संघलगायत उद्योगी व्यवसायीलाई सहयोग गर्न अपिल गरेको छ । साथै महासंघ, कोशीका तर्फबाट पीडितलाई राहतस्वरूप १ लाख २१ हजार रुपैयाँ दिने निर्णय पनि गरेको छ ।

























प्रतिक्रिया लेख्नुहोस्:-