जोमसोम मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—४ कागबेनीधाममा आइतबार साँझ आएको बाढीले बितण्डा मच्याएको छ। कागबेनी गाउँमाथिको मुक्तिनाथ शीर हुँदै झर्ने शाखा नदी पहिरोका कारण थुनिएपछि आएको बाढीले ठुलो क्षति पुर्याएको हो।
अविरल वर्षासँगै गएरातीको ठाँडो खोलाको बाढीले दुई दर्जन घरहरु बगाएको प्रारम्भिक अनुमान गरिएको छ। बाढीले स्थानीयको घर,पसल, होटल, प्रहरी चौकी भवन, वडा कार्यालय लगायतका घर पूरै बाढीले बगाएको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन नाम्गेल गुरुङले जानकारी दिए।
यसैगरी कागबेनी खोलामा आएको बाढीलेधार्मिक श्रद्धास्थल, धर्मशाला, मन्दिर समेत बगाएको छ। बाढीले कागबेनीमा रहेको एनएनबी बैंक रहेको घर, जनशान्ति माध्यमिक विद्यालयमा आशिंक क्षति भएको अध्यक्ष गुरुङले बताए। अचानक आएको बाढीले कागबेनीमा सञ्चालनमा रहेका आधा दर्जन पसलका सामानहरु समेत बगाएको छ भने कागबेनी खोलाको दक्षिण पूर्वमा रहेका घरहरु रहेको स्थान पुरै बगरमा परिणत भएको छ।
बाढीले कागबेनी गाउँभित्र रहेका अस्थायी काठेपुल र जोमसोम—कोरला जोड्ने निर्माण सम्पन्न हुने क्रममा रहेको पक्की पुल समेत बगाएको छ। यसैगरी बाढीले होटलमा पार्किङ गरी राखिएका २ वटा गाडी समेत बगाएको बताइएको छ।
कागबेनीमा आइतबार साँझ ठाँडो मुक्तिनाथ कागखोला थुनिएको थियो। जोखिम बढेपछि त्यहाँका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको थियो।

























प्रतिक्रिया लेख्नुहोस्:-