पोखरा । जनप्रिय बहुमुखी क्याम्पस पोखराका क्याम्पस प्रमुख लोकराज भण्डारी त्रिभुवन विश्वविद्यालय सभा सदस्यमा मनोनित भएका छन् ।

त्रिवि कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २५ जेठमा भण्डारीलाई मनोनयन गरेका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव रामआधार शाहद्वारा हस्ताक्षरित मनोनयन पत्रमा विश्वविद्यालय ऐन २०४९ को दफा ८ को उपदफा २ को खण्ड (द) बमोजिम मनोनयन गरिएको उल्लेख छ ।
२४ जेठदेखि लागू हुने गरी उनलाई मनोनयन गरिएको हो । दफा ८ को उपदफा २ को खण्ड (द) मा त्रिविका सम्बन्धन प्राप्त क्याम्पसका प्रमुखमध्येबाट २ जना सदस्य हुने व्यवस्था छ । यसरी मनोनित भएका सदस्यको कार्यकाल ३ वर्ष हुन्छ ।
त्रिवि सभा सदस्यमा विश्वविद्यालयलाई मार्गदर्शन गर्ने, नीति निर्धारण गर्ने, विश्वविद्यालय अन्तर्गतका कुनै निकाय वा पदाधिकारीलाई आवश्यक निर्देशन दिने, वार्षिक बजेट र कार्यक्रम स्वीकृत गर्ने, दीर्घकालीन योजना स्वीकृत गर्ने, विश्वविद्यालयसम्बन्धी नियम पारित गर्ने, आवश्यकता अनुसार विशेष समिति र आयोग गठन गर्ने लगायतका कार्यभार हुन्छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-