तनहुँ । संगै काम गर्ने सहकर्मीलाई रडले हिर्काइ हत्या गरेको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ ।

तनहुँ शुक्लागण्डकी नगरपालिका ४ दुलेगौडामा रहेको रिमाल अटो केयरमा काम गर्ने देवघाट गाउँपालिका २ क्वादी घर भई दुलेगौडा बस्दै आएका २४ वर्षिय विरम आलेलाई रडले टाउको हानी हत्या गरेको भन्दै नविन कुमार चौधरीलाई तनहुँ प्रहरीले पक्राउ गरेको हो । सर्लाही गौरीशंकर नगरपालिका ५ बगरवा घरभई दुलेगौडा बस्दै आएका २४ वर्षिय चौधरीले आलेलाई पछाडीबाट आएर टाउकोमा रड प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।
टाउकोमा चोट लागि घाइते भएका आलेको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।
‘एक्कासी पछाडीबाट आई रडले टाउको समेतको भागमा हिर्काई घाइते बनाएको रहेछ ’ प्रवक्ता खड्काले भने, ‘घाइते अवस्थामा ईलाका प्रहरी कार्यालय बेलचौतारा तनहुँबाट खटिएको प्रहरी टोलीले उपचारको लागी पोखरा लगिएको थियो । उपचारकै क्रममा मृत्यु भएको हो ।’ आलेको तनहुँ सेवा अस्पताल दुलेगौडामा सामान्य उपचार गरी थप उपचारका लागी मणिपाल शिक्षण अस्पताल पोखरा लगिएको थियो । उनको उपचारको क्रममा १ बजेर २५ मिनेटमा मृत्यु भएको खड्काले बताए । घटनामा संलग्न रहेका नबिन कुमार चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको उनले बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-