पोखरा । संघ र प्रदेशमा सरकार चलाइरहेको पाँच दलीय गठबन्धन यो चुनावमा पनि सँगै छ । एकाधबाहेक देशैभर गठबन्धन गरी चुनावमा होमिएको गठबन्धनका दलहरु यसपछि पनि गठबन्धनकै सरकार बन्ने र ठूला योजना बनाएर कार्यान्वयन गर्ने आश्वासन दिइरहेका छन् ।
कास्की १ मा सत्ता गठबन्धनका उम्मेदवारहरु पनि संघ र प्रदेशमा गठबन्धनको सरकार बन्ने र समृद्धिको गति तीव्र बनाउँदै वाचा गर्दै चुनावी मैदानमा छन् । कास्की १ मा गठबन्धनबाट नेपाली कांग्रेसका किशोरदत्त बराल र प्रदेश १ मा दीपक कोइराला र २ मा दीपक गुरुङ माइला साझा उम्मेदवार छन् । शुक्रबार पोखरा २९ मा मत माग्दै कोइराला र बरालले यो क्षेत्रको विकासको नेतृत्व अब आफूहरुलाई दिन आग्रह गरे ।
कोइरालाले निर्वाचन लगत्तै भूमिहीन, सुकुम्बासीलाई लालपुर्जा वितरण हुने बताए । उनले भने, ‘हाम्रो संविधानमै कोही नेपाली भूमिहीन नहुने उल्लेख छ । यो चुनावी एजेन्डा होइन । नेपालीलाई गैरनेपाली हुन नदिनु सरकारको दायित्व हो ।’ उनले गएको कार्यकालमा थालेका काम पूरा गर्दै आगामी कार्यकालमा कास्की १ लाई नमुना र उदाहरणीय बनाउन योगदान गर्ने प्रतिवद्धता गरे ।
कास्की १ का उम्मेदवार बरालले देशभर गठबन्धनको जित हुने दाबी गर्दै यसको औपाचारिक घोषणा हुनमात्र बाँकी रहेको बताए । उनले भने, ‘देशैभर माहोल गठबन्धनको पक्षमा छ । प्रदेश र संघमा कांग्रेस हाम्रो सरकार बन्छ ।’ उनले संघ र स्थानीय सरकारसँग समन्वयमा ठूला, साना योजनाका लागि पहल उल्लेख गरे । अहिले गठबन्धनका साझा भए पनि निर्वाचित भएपछि सबैको साझा बनेर काम गर्ने उनको भनाइ छ ।
कांग्रेस नेता एवं पूर्व मन्त्री यज्ञबहादुर थापाले राजनीतिमा अहिले देखिएका समस्या गठबन्धनले समाधान गर्न सक्ने उल्लेख गर्दै नेपालको समृद्धि र विकासको नेतृत्व गठबन्धनले मात्र गर्न सक्ने दाबी गरे । कार्यक्रममा कांग्रेस वडा सभापति दीपकमणि भण्डारी, माओवादीका वडा अध्यक्ष धनबहादुर विक लगायतले पनि बोलेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-