पोखरा । कास्की क्षेत्र नम्बर १ ख का प्रदेश सभा सदस्य उम्मेद्धार वेद बहादुर गुरुङ ुश्यामुले निर्वाचित भएपछि शिक्षा र स्वास्थ्यमा जोड दिने कुरा बताएका छन्। नेकपा एमालेको तर्फबाट उम्मेद्धार बनेका गुरुङले देशलाई समृद्धिको बाटोमा हिडाउन शिक्षा र स्वास्थ्यको बिछट्टै महत्व रहेको कुरा समेत बताए ।
बुधबार पोखरा महानागरपालिका वडा नम्बर १२ का मतदातासंग गुरुङले भेटघाट गरेका थिए। भेटघाटको क्रममा गुरुङले शिक्षा र स्वास्थ्य जस्तो आधारभूत कुरा दिने दायित्वबाट सरकार भागेको आरोप समेत लगाए। गुरुङले आफू निर्वाचित भएपछि निशुल्क र गुणस्तरीय शिक्षा अनि स्वास्थ्यको लागि नीति बनाउन लाग्ने बताए।
शिक्षा र स्वास्थ्यमा समान पहुँच नभएसम्म विकास र समृद्धि सम्भव छैन। त्यसैले विपन्न वर्गका बालबालिकाहरुको निशुल्क शिक्षा प्रदान हुनेछ। सर्वसुलभ रुपमा स्वास्थ्य सेवा प्रदान गरिनेछ। गुरुङले भने, नेताहरु समाजवादको चर्को नारा बोकेर हिडेका छन्। जनतालाई पुरा नहुने सपना बाँड्दै हिडेका छन् । तर समाजवादको प्रस्थानविन्दु नै बिर्सेका छन्। शिक्षा र स्वास्थ्यमा गुणस्तर नआएसम्म देशले वास्तविक विकास असम्भव छ ।
शिक्षा एवं स्वास्थ्य क्षेत्रमा सरकारले बर्सेनि २ देखि ३ खर्ब बजेट विनियोजन गर्छ। तर समस्या ज्युँको त्युँ छ । अझै गरिब जनताले पढ्न पाएको छैन । जीवनजल नपाएर ज्यान गुमाउनु परेको छ । गुरुङले भने, गलत नेता चुन्नु र गलत व्यक्ति सरकारमा जानुको कारणले यस्तो भएको हो। मलाई जिताउनुस्। समस्या समाधान गर्न लाग्नेछु ।
गुरुङले प्रदेशमा भरि माध्यमिक तहको शिक्षालाई क्रमशः निःशुल्क र अनिवार्य गराइने, विद्यालयलाई अपांगता र बालमैत्री बनाइने, भौगोलिक रूपमा टाढा रहेका प्राविधिक तथा व्यावसायिक विषयका विद्यार्थीका लागि आवासीय शिक्षाको व्यवस्था गरिने कुरा स्थानिय मतदातालाई सुनाए । पोखरा १२ स्थित माटेपानीका नन्द माया थापाले वेद बहादुर गुरुङको योजना सुनेपछि एमालेमा भोट हाल्ने कुरा बताए । ‘उहाँ जस्तो युवा अनि भिजन भएको मान्छेलाई अब देशको बागडोर सुम्पिनु पर्दछ । अनिमात्र देश र जनताको भलाई हुन्छ ।’ उनले भनिन्।
गुरुङले आफू मादी गाउँपालिकाको अध्यक्ष हुँदा स्वास्थ्य र शिक्षामा उलेखनीय काम गरेको दाबी गरेका थिए। कार्यभार ग्रहण गर्नु अघि ७ वटा मात्र स्वास्थ्य चौकी रहेको मादीमा अरु ६ वटा थपेको र थुम्सीकोटमा १५ शैयाको अस्पताल निर्माण गरेको बताए। त्यस्तै शैक्षिक क्षेत्रमा नीतिगत र व्यवहारिक प्रयासपछि स्तर उन्नति भएको दाबी गरे।
मंसिर ४ गते हुने निर्वाचनमा एमालेले राम्रो नतिजा ल्याउने दावी गरे । गठबन्धन सरकारको पछिल्लो गतिविधि देखेर जनताले निरास भएको कुरा सुनाए। नेकपा एमालेले कास्की क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा तर्फ जिल्ला अध्यक्ष मन बहादुर गुरुङ, प्रदेश क तर्फ खगराज अधिकारी र ख तर्फ वेद बहादुर गुरुङ श्यामलाई उठाएका छन्। नेकपा एमाले कास्की १ ले निर्वाचन केन्द्रित रहेर उम्मेदवार भेटघाट कार्यक्रमलाई तीव्रता दिइरहेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-