पोखरा । साबिक लेखनाथ नगरपालिकामा ७ ताल छन् । डाँडा, फाँट, ताल, सिमसार रहेको लेखनाथ क्षेत्र पोखरा महानगरमा गाभिए पनि विकासको गतिमा स्थानीय सन्तुष्ट छैन । उनीहरुमा साबिक पोखराको छायाँमा परेको गुनासो गरिरहेका छन् ।
कास्की १ ९१०का गठबन्धनका उम्मेदवार दीपक कोइराला पनि केही हदसम्म स्थानीयको गुनासोमा सहमत छन् । कोइराला सहरीकरणको बाटोमा अघि बढेको लेखनाथलाई योजनाबद्ध रुपले विकास गरी नमुना बनाउने प्रतिवद्धतासहित मैदानमा छन् । माओवादी केन्द्रका नेतासमेत रहेको कोइरालाले स्थानीय र संघ सरकारसँग सहकार्य गर्दै लेखानाथ क्षेत्रमा समृद्धिको जग निर्माण गर्ने वाचा गरे ।
बुधबार पोखरा ३१ का चौर, कालिमाटी, किमवेंसी, पिप्लेका मतदातालाई उनले चाडै लेखनाथ सुन्दर, प्राकृतिक छटासहितको नमुना क्षेत्र बन्ने विश्वास दिलाए । कोइराला भन्छन्, ‘अहिले सात ताल जोड्ने लिंक रोडको काम भइरहेको छ । यो पूरा गर्न प्रदेशको बजेटले मात्र धान्दैन, संघमा यसका लागि पहल गर्ने र स्थानीय तहसँग समन्वय गर्ने अगुवाइ हामी गर्ने छौं ।’
फेवा जत्तिकै सम्भावना भए पनि ओझेलमा परेको बेगनासलाई प्रवद्र्धन गर्न योजनावद्ध प्रयास गरिने उनले बताए । उनले भने, ‘बेगनासताल वरिपरि फुट ट्रयाक र साइकल ट्रयाक बनाउन जरुरी छ । यहाँको वराह मन्दिरलाई फेवाको तालबाराही मन्दिर जसरी नै प्रवद्र्धन र प्रचार गर्न सकिन्छ । यसका लागि विज्ञबाट अध्ययन गरी कामयावी योजना बनाउने छौं ।’
प्राकृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गर्दै यो क्षेत्रमा पर्यटकलाई २ दिन बस्ने वातावरण बनाउने गरी पूर्वाधार र अरु योजना बनाउने उनको बाचा छ । कोइराला भन्छन्, ‘वराह मन्दिरलाई तालबाराही जस्तै परिपरि घुम्न मिल्ने बनाउन सकिन्छ । सात ताल एउटै रोडबाट घुम्दै, प्रकृतिसँग रमाउने अवसर सिर्जना गर्नैपर्छ । यसको नेतृत्व हामी गछौं ।’
नेपाली कांग्रेसका सहमहामन्त्री एवं समानुपातिक उम्मेदवार जीवन परियारले व्यवस्था बदल्ने कांग्रेस–माओवादी सहकार्यले मुलुकलाई विकासको गतिमा अघि बढाउने उल्लेख गरे । उनले विकास, स्थिरता र नयाँ नेपालको सपना साकार पार्न गठबन्धनका उम्मेदवारकै जित जरुरी भएकोमा जोड दिए ।
प्रतिक्रिया लेख्नुहोस्:-