विजय नेपाली
पोखरा । बिहिबार गण्डकी प्रदेश राजधानी पोखरामा खेलकुदको महामेला राष्ट्रिय खेलकुद प्रतियोगिताको नवौं संस्करणको सम्पन्न भयो ।
विभिन्न बाधा अवरोध, उतार चढावका बीच प्रतियोगिता सम्पन्न भयो । प्रतियोगितामा नयाँ र आशलाग्दा नतिजा पनि आए ।

बर्दिया मधुवन नगरपालिका २ सुन्दरपुरकी २१ वर्षिया जयरानी थारु पोखरामा माछापुच्छे« हिमाल झैँ चम्किइन् । २०७३ सालमा पुर्वाञ्चलमा भएको सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताबाट आफुलाई डेब्यु गराएकी उनको संघर्षको कथा सामान्य रहेन् । जुत्ता लगाएर दौडन नजान्ने उनको चर्चाले पुरा देश ढाकिदियो । न ढाकोसपनि कसरी जसले ५ स्वर्ण जित्दा ३ नयाँ कीर्तिमान कायम गरिन् । ०७३ सालमा मध्यपश्चिमाञ्चल विकास क्षेत्रबाट आफुलाई राष्ट्रिय खेलमा अभ्याएकी जयरानीको त्यो खेल अविस्मरणीय रह्यो ।
इट्टाको धुलो राखेर बनाइएको एथलेटिक्स ट्रयाक्मा अन्य खेलाडी नयाँ जुत्ता लगाएर सहभागि हुँदा उनी भने खाली खुट्टा थिइन् । जुत्ता लगाउने बानी नपरेको उनी खाली खुट्टा नै दौडिइन् । व्यक्तिगत स्पर्धामा पदक प्राप्त गर्न नसकेपनि उनले चार गुण १०० मिटर रिलेमा रजत जितिन् । त्यतिबेलासम्म उनको खुट्टामा चोट लागेको थियो । कारण खाली खुट्टा थियो । ‘खुट्टा काटेको थियो । दुखेर सहन नसक्ने अवस्था थियो ।’ विगतलाई सम्झदै उनले भनिन् । विगतको दुःखले अहिले उनलाई सुख दिएको छ । सुखमात्रै होइन् अब उनी अन्तराष्ट्रिय जगतमै परिचित हुनेछिन् । कारण हो नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता ।
आठौं राष्ट्रिय खेलकुदमा लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गराएकी उनले कुनै पदक प्राप्त गर्न सकिनन् । प्रदेशबाट सहभागिता जनाउँदा आफ्नो क्षमतालाई प्रस्फुटन गर्न नसकेकी उनलाई २०७५ सालमा त्रिभुवन आर्मी क्लबले एउटा अवसर दियो । जुन अवसर उनको र उनका बुबाको सपना थियो । संयोग पनि कस्तो ? बुबालाई छोरी आर्मी भएको हेर्ने चाहाना, छोरीलाई खेलाडी बन्ने । उनको खेल कौशलकै कारण बुबा र आफ्नो सपना पुरा गर्न सक्षम रहिन् । आर्मीमा आबद्धभएको चारवर्षमा टेक्दै गर्दा उनले आर्मीका साथै आफुलाई समेत अब्बल सावित गरिन् ।
गण्डकी प्रदेशमा आयोजना भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा उनले पाँच स्वर्ण हासिल गर्दै गर्दा राष्ट्रिय कीर्तिमानीको ह्याट्रिक गरिन् । उनले चार महिना अघि आफैले बनाएको राष्ट्रिय कीर्तिमानी भंग गर्दै नयाँ कीर्तिमान कायम गरिन् । जयरानी एथलेटिक्स तर्फ हडल्स विधाकी खेलाडी हुन् । पोखरा उनलाई फलदायी रह्यो । उनले आफ्नो विधामा मात्रै होइन् कहिल्यै पनि चाख नदेखाएको लङ जम्पका समेत राष्ट्रिय कीर्तिमान बनाउन सफल रहिन् ।
आफुले हडल्समा आफ्नो समय सुधार गरी कीर्तिमानी गर्ने लक्ष्य राखेपनि लङजम्पमा भने स्वर्णको समेत आशा गरेकी थिइनन् । ‘यस्तो हुन्छ र ३ वटामा कीर्तिमानी गर्छु भनेर त आश नै थिएन् । तर भाग्य भनम की के भनम् ३ वटामा कीर्तिमानी बन्यो’ मुसुक्क मुस्कुराउँदै फेरी बोल्छिन्,‘मेरो टार्गेट ४ सय हडल्स र एक सय हडल्समा कीर्तिमानी गर्छु भन्ने थियो । मैले ति दुई वटामा कीर्तिमानी गर्छु भनेर नै ट्रेनिङ गरेको थिएँ । लङजम्पको चाहिँ कहिल्यैपनि मैलै प्रशिक्षण गरिन् । यसमा पनि मेडल त लाग्छ तर फस्ट नै लाग्छ भन्ने त १ प्रतिशत पनि थिएन् ।’
आफुले कहिल्यै नसिकेको खेलमा समेत कीर्तिमानी बनाउँदा उनी फुरुङ्ग छिन् । आफुले कीर्तिमानी बनाउनुको पछाडीको श्रेय क्लबलाई(आर्मी) दिन्छिन् । प्रदेशबाट आफुलाई प्रतिनिधित्व गराएको भए आज यो अवस्थामा आइनपुग्ने भन्दै उनले प्रदेश र विभागमा धेरै फरक पाएको सुनाइन् ।
आर्थिक अभावले च्याम्पियनसिम गुम्यो…..
‘विभागमा र प्रदेशमा धेरै नै फरक पाउछु म । पहिला यसरी अहिलेको जस्तो ) कसैलेपनि ट्रेनिङ दिएन । त्योमात्रै कहाँ हो र ? मेरो घरदेखी गुरुहरुको घर पनि निकै टाढा भएकाले आउजाउमै समस्या थियो ।’ बर्दियामा आफुलाई खेलक्षेत्रमा सुमित्रा चौधरी र विश्वराज चौधरीले ल्याएको बताइन् । उहाँहरु (विश्वराज र सुमित्रा) आफुले गरेजति र थाहा पाएजतिको प्रशिक्षण दिनुभयो तर, इक्युपमेन्ट नै नभएर होला सायद कम भएको । अहिले विभागमा जागिर खाएदेखी बाहिरको भन्दा(प्रदेश) अलिबढी नै सुविधा छ ।
इक्युपमेन्ट, प्रशिक्षक सबै गुणस्तरीय छन्’ उनले भनिन्,‘बाहिर भएको भए यस्तो गर्न सक्थेँ जस्तो लाग्दैन आफैँलाई । किनकी म भित्र आएर(आर्मी) धेरै सजिलो भयो । खेल प्रशिक्षणका लागि कुनै समस्या नै भएन् ।’
विगतमा आफुले निकै दुःख पाएको र आर्थिक अवस्था कम्जोर भएकाले कतिपय खेलहरु गुमाउन परेको उनको भनाइ छ । विगतलाई सम्झदैँ उनी भन्छिन्,‘कतिपय राम्रो गेमहरु पनि गुमाए । उतादेखी खेल्दा (प्रदेशबाट) आफ्नो आर्थिक अवस्थाले नभ्याउने । मेरो घरको अवस्था कम्जोर छ भनेको समयमा पैसा ल्याउन सक्ने स्थिति नै थिएन् । मेरो मात्रै होइन प्रदेशबाट खेल्ने प्राय खेलाडीहरुको समस्या भनेकै यहि हो ।’ ‘सबै धनी त हुँदैन नी । मलाई पनि केहि खेलहरु हुँदा त्यहि समस्या परेको थियो । एउटा च्याम्पियनसिप नै भएको थियो । पैसा अभावका कारण म सहभागिता हुन सकिन् । मेरा साथिहरुपनि यहि कारणले आउन पाएनन् ।’
आमा बुबासहित ११ जना परिवारमा उनी मात्रै खेलाडी हुन् । उनका ३ जना दाई र १ दिदीको विवाह भइसकेको छ । उनीसहित ४ जना घरमै छन् । ‘खेलकै माध्यमबाट आर्मीमा जोडिए । आर्मीमा आबद्ध भएको साउनमा चारवर्षमा टेकँे । मेरो खेलमा पहिलादेखी नै राम्रो थियो । तर फस्ट मेडल कुनैमा पनि टच भएन ।’ सातौंलाई सम्झदैँ पुनः भन्छिन्,‘सातौंमा पर्सनल इभेन्टमा कुनैमा पनि मेडल टच भएन् । काठमाण्डौंमा जुनियर गेम खेल्न आउँदा आर्मी क्ल्बले आर्मीबाट खेल्न पर्छ भन्ने गथ्र्यो ।
मेरो बाबाको चाहाना नै आर्मीमा जागिर खानु थियो । पछि आर्मीले नै खेलको कोटा पठाएर भर्ना गराइदियो’ त्यसैमा थपिन, ‘त्यतिबेला व्यक्तिगत स्पर्धामा मेडल टच गर्न सकिन । किनकि त्यतिबेला धेरै राम्रो खेलाडी थिए । आठौंमा प्रदेश नं. ५ बाट खेले त्यहाँपनि खासै राम्रो हुन सकेन ।’ आर्मीले उनलाई जयनरानी होइन् एथलेटिक्सकी रानी ‘जयरानी’ बनाइदिएको छ ।
सानैदेखी एथलेटिक्समा……
‘मलाई खेल खेल्न निकै मन पथ्र्यो । हाम्रो स्कुल निमावि भएकै कारणले रनिङ शिल्डहरुमा कतै भाग लिन पाउने थिएन् । म ८ मा पढ्दा बल्ल हाम्रो विधालय मावि भएको थियो । एकदिन स्कुलमा दौड रहेछ म घरमै बसेको थिए । दाई र म एउटै कक्षामा थियौँ । अनि दाईले बेलुका घरमा आएर भन्नुभयो आज त दौड थियो नि स्कुलमा भनेर । म पनि दौडिन्थे नि म त सबलाई जित्दिन्छु भने । अर्को दिन स्कुल जाँदा कोको दौडिन्छौ भन्दा म पनि गए र सबैलाई जितेँ ।’ उनले आफ्नो चाहाना ओलम्पिकको रहेको र अब साफ गेमका लागि तयारी गर्ने सुनाइन् ।
पाँच स्वर्ण ३ कीर्तिमानी……..
४०० मिटर हडल्समा उनले राष्ट्रिय कीर्तिमानसहित स्वर्णपदक जितिन् । उनले निर्धारित दूरी १ मिनेट ०४.१३ सेकेन्डमा पूरा गरिन् । जयरानीले आफ्नै नामको कीर्तिमान सुधार गरेकी हुन् । चारमहिना अघि ४४ औं राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा १ मिनेट ०७ दशमलब २ सेकेन्डको कीर्तिमान बनाएकी थिइन् ।
सय मिटर हडल्स १५.६९ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै स्वर्ण जितेकी हुन् । यसअघि जयरानीले हिट चरणमा राष्ट्रिय कीर्तिमान कायम गरेकी थिइन् । उनले १५.१६ सेकेन्डमा दूरी पूरा गर्दै हिट चरणमा राष्ट्रिय कीर्तिमान कायम गरेकी थिइन् । महिला लङ जम्पमा ५ दशमलव ५८ मिटर जम्प गर्दै राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी हुन् ।
गत असारमा निशा चौधरीले ५ दशमलव ४७ मिटर जम्प गर्दै शिला चौधरीले सन् २०१८ मा राखेको ५ दशमलव ४५ मिटर जम्पको कीर्तिमानलाई भंग गरेकी थिइन् । चार गुण १०० मिटर (४०० मिटर) रिलेमा उनले स्वर्ण जितेकी हुन् । ६ गुण १०० मिटर (१६ सय) मिटर रिले दौडमा स्वर्ण जितिन् ।
प्रतिक्रिया लेख्नुहोस्:-