कास्की, १० असोज । मादी गाँउपालिका ७ काउरेडाँडास्थित सडक छेउमा रहेको थाक खोलाको खानेपानी संस्थानको पाइपहरु चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही गाउँपालिका ७ थाक बस्ने ३५ वर्षीय रमेश गुरुङ, २६ वर्षीय निरज तामाङ, सोही गाउँपालिका घर भई हाल पोखरा महानगरपालिका १० बस्ने ३४ वर्षीय खरजंग गुरुङ र लम्जुङ मध्यनेपाल नगरपालिका ८ स्थायी घर भई हाल कास्की पोखरा महानगरपालिका १३ कसेरी बस्ने २३ वर्षीय रिदम भन्ने सुनिल परियार रहेका छन् ।
असोज ५ गते बिहान खानेपानी संस्थानको पाइपहरू चोरी भएको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले ग १ त ५१३७ नम्बरको ट्याक्टरमा उक्त पाइपहरू लोड गरी मादी गाउँपालिका ५ तर्फ ल्याउँदै गरेको अवस्थामा फेला पारी उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरू उपर कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका मुद्दामा दिन ६ म्याद थप गरी यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-