काठमाडौं । ईन्टरपोलबाट रेड नोटिस जारी भएका मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार अभियुक्त लमजुङ दोर्दि गाउँपालिका १ भर्ते ठेगाना भएका ३८ वर्षीय नारायण प्रसाद अधिकारीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
मानव बेचबिखन तथा ओसारपसार मुद्दामा संलग्न रही फरार रहेका अधिकारीलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास गर्नको लागि नेपाल प्रहरी प्रधान कार्यालय मानव बेचबिखन व्यूरोको अनुरोधमा ईन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी भई उनको खोजी गरेको थियो । ईन्टरपोल मकाउको समन्वयमा मकाउमा पक्राउ परेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएपश्चात नेपाल प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
अधिकारीले मासिक १ लाख ५० हजार रुपैयाँ तलब हुने गरी क्यानेडियन कम्पनीमा रोजगारी मिलाईदिने भनी पीडितहरू मार्फत् २५/२५ सय डलर र पासपोर्ट समेत लिई उनीहरूलाई दुबईमा राखीएको थियो । दुबईबाट लिविया हुँदै ईटाली लाने भनी पीडितहरूबाट पुन ३ लाख रूपैयाँ आफ्नो श्रीमतीको बैंकको खातामा जम्मा गर्न लगाई लिवियाको शरणार्थी क्याममा राखिएको प्रहरीले जानकारी दिएको छ । लिवियास्थित नेपाली सेनाको शान्ति सेना मिसन, ईजिप्टस्थित नेपाली राजदुतावास र आईओएमको समन्वयमा पीडितहरूलाई नेपाल फिर्ता ल्याईएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।
उनलाई आवश्यक कारवाहीका लागि नेपाल प्रहरी प्रधान कार्यालय मानब बेचबिखन व्यूरोमा बुझाइएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-