बझाङ — मंगलबार रातिदेखिको अविरल वर्षापछि विभिन्न ठाउँमा खसेको पहिरोले बझाङको विकट साइपाल गाउँपालिकामा ठूलो क्षति भएको छ । दर्जनौं ठाउँमा पहिरो खसेर बाटाघाटा बन्द हुँदा एक गाउँ र अर्को गाउँबीच सम्पर्क विच्छेद भएको छ । पहिरोले तीन घर भत्किएका छन् भने ५० भन्दा बढी घर जोखिममा परेका छन् ।
पहिरोमा परेर वडा २, धलौनको खोडीमा दलजित बोहराको घर भत्किँदा ६ वटा गाईगोरु च्यापिएर मरेका छन् । यस्तै वडा २ कै जिमा गाउँमा प्यारु कामीको घर भत्किँदा ५ चौपाया मरेका छन् ।
पहिरोले वडा ४ जगेराका असभान रोकायाको घर बगाउँदा धनमालको क्षति भएको छ । वडा २ को काँकरकोटमा पहिरोले तलकोट गाउँपालिकाका धनकृष्ण जोशीका तीन वटा खच्चर मरेका छन् । दुई खच्चर घाइते छन् । सोही पहिरोले काँकरकोटमा हालसालै निर्मित पाहुना घरसमेत पुरेको साइपाल गाउँपालिकाले जानकारी दिएको छ ।
वडा ३ मा रहेको बाँझचौका गाउँकोमाथिबाट पहिरो आएपछि त्यहाँ रहेका २२ घर जोखिममा परेका छन् । यही वडाको दलित टोलमा तीन र माझलासी गाउँमा दुई वटा घरको मुन्तिरबाट पहिरो खसेपछि भत्किने अवस्थामा पुगेका छन् । यस्तै जिमा, धलौन र काँकरकोटका १५ बढी घर पहिरोको जोखिममा परेको गाउँपालिका अध्यक्ष मानबहादुर बोहराले बताए । ‘पहिरो आँगनसम्म पुगिसकेको छ । अहिले जोखिम भएका घर भत्किए भने अरू घरलाई पनि क्षति हुनेवाला छ,’ काँडा माध्यमिक विद्यालयका शिक्षक बमबहादुर बोहराले भने, ‘गाउँका कोही पनि मान्छे हिजोदेखि सुतेका छैनन् ।’ उनले पानी निरन्तर परिरहेकाले कुन बेला के हुन्छ भन्न नसकिने अवस्था रहेको बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-