पोखरा । पोखराबाट जोमसोम उडान भरेको तारा एयर विमान दुर्घटनामा परेकामध्ये अहिलेसम्म करिब १६ जनाको शव फेला परेको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले हालसम्म १६ वटा शव संकलन भइसकेको र अन्यको खोज्ने काम जारी रहेको बताए । सबैको शव संकलनसँगै मुचुल्का तयार पारेपछि हेलिकोप्टरमार्फत् उद्धार गरिनेछ ।
आइतबार बिहान उडेको तारा एयरको विमान बिहान १०:११ पछि सम्पर्कविहीन भएकोमा भोलिपल्ट सोमबार बिहानमात्र मुस्ताङको थासाङ गाउँपालिका २ सानुसरे भन्ने भिरमा फेला परेको हो । विमानमा चालक दलका ३ सदस्यसहित १९ यात्रु गरी २२ जना सवार थिए ।
शवलाई सिधैं काठमाडौं लगिने र आफन्तको जिम्मा लगाइने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । विमान नचलेको हुँदा शव चिन्न सकिने अवस्थामा रहेको दुर्घटनास्थलमा पुगेका सामाजिक अभियन्ता एवं होटल व्यवसायी इन्दुसिंह शेरचनले बताए ।
नेपाली सेनाको हेलिकोप्टर मध्यकमाण्ड पोखराका कमाण्डपति उपरथि बाबुराम श्रेष्ठका अनुुसार सेनाको टोली केही समयमै दुर्घटनास्थल पुग्नेछ । टोलीमा शेर्पाहरु पनि संलग्न छन् । यस्तै, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको थप टोली पनि जाँदैछ ।
प्रतिक्रिया लेख्नुहोस्:-