जोमसोम ः आइतबार बिहान १०:१० बाट सम्पर्क विच्छेद भइ मुस्ताङको आकाशमा हराएको तारा एअरको ९ एन एईटी जहाज सोमबार फेला परेको छ। जहाज थासाङ–२ को मानापाथी हिमालको फेदमा सानो सरे भन्ने स्थानको पहाडमा भेटिएको हो ।
समुन्द्री सतहदेखि माथि झन्डै ४ हजार मिटर उचाइमा तारा एअरको जहाज दुर्घटना भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए । प्रजिअ शर्माका अनुसार थासाङको मानापाथी हिमालको फेद नजिक याकखर्क भन्ने स्थानमा यार्सा टिप्न गएका ९ जना टोली र लेतेबाट गएका स्थानीय युवा सुमित गौचनको टोलीले सोमबार बिहानैदेखि हराएको जहाज खोजी कार्य सुरु गरेको थियो। जहाज पूर्ण रुपमा क्षतिग्रस्त भएको छ भने जहाजका सामान छरपस्ट रुपमा पहाडमा छरिएको जहाज खोज्न गएका युवा सुमित गौचनले जानकारी दिए ।
हराइरहेको जहाज भेटिएपछि जोमसोमबाट ३ वटै सुरक्षा निकायको टोली अहिले उद्धारका लागि घटना स्थलमा पुगेको प्रहरी निरीक्षक रामकुमार दानीले जानकारी दिए । अहिले जहाजको अवस्था बुझ्न जोमसोमबाट फिस्टेल एअरको हेली घटना स्थलतर्फ प्रस्थान गरेको प्रशासनले बताएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-