काठमाडौँ — ०६७ मा दाङमा होटलबाट किशोरीलाई अपहरण गरी सामूहिक बलात्कार गर्नेलाई सर्वोच्च अदालतले १२ वर्षपछि सजाय दिएको छ । तर, जिल्ला र उच्च अदालतले दिएको न्यून सजायबाट फुत्किएका उनीहरूलाई पक्राउ गरेर सजाय असुल गर्न भने चुनौती छ ।

रुकुमको चुनवाङकी १८ वर्षकी लक्ष्मी ९परिवर्तित नाम० आफ्ना केटा साथीसँग दाङको तुलसीपुरस्थित कृष्णसागर होटलमा बसेकी थिइन् । होटलमा होहल्ला गर्दै बसेका १० जना केटाहरूले टीभीको आवाज ठूलो बनाएर माथिल्लो तलासम्म डिस्टर्ब गरेपछि लक्ष्मीका केटा साथीले होटल साहूलाई गुनासो गरे । त्यसलगत्तै ती केटाहरू उनीमाथि जाइलागे । कुटपिट गरेर छाडिदिए तर लक्ष्मीलाई भने जबर्जस्ती उठाएर साबिक तुलसीपुर नगरपालिका ५ र ९ को बीचमा पर्ने पातुखोला किनारमा पुर्याएर रातभर सामूहिक बलात्कार गरे । त्यसमा संलग्न भएकामध्ये तीन जनालाई सर्वोच्चले १६ वर्षको कैद सजाय सुनाएको छ ।
मंगलबार न्यायाधीशहरू कुमार रेग्मी र हरिप्रसाद फुयालको इजलासले दाङको साबिक मानपुर गाविसका सुनील वली, बुद्धिप्रकाश केसी र यादव टन्डनलाई अपहरण र सामूहिक बलात्कारमा कैद सजाय सुनाएको हो । तत्कालीन समयमा प्रचलित मुलुकी ऐनअनुसार बलात्कारमा पाँच वर्ष, सामूहिक रूपमा उक्त अपराध गरेकाले थप पाँच वर्ष, अपहरणमा चार वर्ष र सामूहिक रूपमा उक्त कसुर गरेकाले थप दुई वर्ष गरी जम्मा १६ वर्षको कैद सजाय सुनाएको हो ।
त्यही अपराधमा संलग्नमध्ये दाङको मानपुरका चन्द्र बीएम र उरहरिका नवीन बस्नेत अहिलेसम्म पनि फरार छन् । फरार रहेकाले सामूहिक बलात्कारको अपराधमा उनीहरूको भूमिकाबारेको मुद्दालाई जिल्ला अदालतले मुल्तबीमा राखेको छ । उनीहरू पक्राउ परेपछि त्यसमा सुनुवाइ हुनेछ । तर, अपहरण तथा शरीर बन्धक मुद्दामा फरार रहेका अभियुक्तलाई पनि प्रमाणको मूल्यांकन गरेर सजाय दिन सकिने, मुल्तबीमा राख्न नपर्ने कानुन छ । त्यसैले सर्वोच्च अदालतले उनीहरूलाई सामूहिक अपहरणमा ६ वर्षको कैद सजाय तोकेको छ । उनीहरू पक्राउ नै नपरेकाले यसको असुल गर्न भने गाह्रो छ ।
त्यस्तै उक्त घटनामा मुछिएका साबिक उरहरिका सचिन योगी तथा मानपुरका कृष्णसागर वली र मिनकेतन गिरीलाई सहयोगीको भूमिका खेलेको भन्दै सर्वोच्चले दुई–दुई वर्षको कैद तोकेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-