रोल्पा — रोल्पा नगरपालिकामा माओवादी केन्द्रले जित हासिल गरेको छ । नगरपालिकाको प्रमुखमा सुरेन्द्र थापा घर्तीमगर र उप प्रमुखमा गीता आचार्य विजयी भएका हुन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नगर प्रमुख घर्तीमगरले ७ हजार ६ सय ३ मत पाए भने उप प्रमुख आचार्यले ७ हजार ७ सय ४१ मत पाएकी हुन् ।
उनीहरुका प्रतिद्वन्द्वी कांग्रेसका शेरबहादुर थापाले ३ हजार ६ सय ५८ र पुष्पा श्रेष्ठले ३ हजार ७ सय १९ मत पाएका हुन् । रोल्पाको एक मात्रै नगरपालिकामा अघिल्लो पटक पनि माओवादी केन्द्रका उम्मेदवारहरु नगर प्रमुखमा पूर्ण केसी र उप प्रमुखमा मनकुमारी पुनले विजय हासिल गरेका थिए ।
नगरमा १९ हजार ४ सय ९८ मतदाता रहेकामा १२ हजार ८ सय ७५ अर्थात् ६६ दशमलव ३ प्रतिशत मतदान भएको थियो । नगरको प्रमुख र उप प्रमुखमा स्वतन्त्र र अन्य दलका गरी ५र५ जना चुनावी मैदानमा थिए । अघिल्लो पटकको तुलनामा कांग्रेसले थोरै मत पाएको छ । तेस्रो स्थानमा रहेको एमालेले भने केही मत वृद्धि गरेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-