गोरखा । गोरखाका ११ मध्ये सात स्थानीय तहमा मतगणना सुरु भएको छ । गोरखा र पालुङटार नगरपालिका, गण्डकी, बारपाक सुलिकोट, अजिरकोट, शहीद लखन र भीमसेन थापा गाउँपालिकामा मतगणना सुरु भएको सम्बन्धित पालिकाका निर्वाचन अधिकृतहरुले जानकारी दिएका छन् ।
सामान्य विवादका कारण धार्चे गाउँपालिकाको मतगणना सुरु गर्न नसकिएको निर्वाचन अधिकृत निराजकुमार खत्रीले बताए । ‘सबै मतदान केन्द्रबाट मतपेटिका आइसक्यो, बिहान सर्वदलीय बैठक पनि बस्यौं,’ उनले भने, ‘तर सामान्य विवाद भएकाले मतगणना शुरु गर्न सकेका छैनौ ।’
विवादको विषय भने उनले खोल्न चाहेनन् । सिरानचोक र आरुघाट गाउँपालिकामा मतगणनाका लागि सर्वदलीय बैठक बसिरहेको बताइएको छ । चुमनुव्री गाउँपालिकामा भने मतगणना स्थलमा मतपेटिका ल्याउने काम भइरहेको निर्वाचन अधिकृत नानीबाबु पोखरेलले बताए ।
‘भौगोलिक विकटताका कारण मान्छेले बोकाएर मतपेटिका ल्याउनुपर्ने बाध्यता छ,’ उनले भने, ‘सबै ठाउँबाट मतपेटिका ल्याउँदै हुनुहुन्छ, दुई दिनसम्ममा आइपुग्छ कि भन्ने अनुमान हो ।’ कडा सुरक्षाका बीच मतपेटिका मतगणना स्थलमा ल्याउने काम भइरहेको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए । उनका अनुसार नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरी खटाइएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-