पोखरा । पोखरा थिएटरको गन्धर्व नाटकघरमा मञ्चन भइरहेको नाटक ‘शिरीषको फूल’ ले पोखरेली दर्शकको माया पाएको छ । थिएटर मल र पोखरा थिएटरको सहकार्यमा चैत्र २४ गतेबाट मञ्चन भइरहेको नाटकले वर्षाका बाबजुत पनि दर्शक पाइरहेको छ । सुप्रशिद्ध साहित्यकार पारिजातको मदन पुरस्कार विजेता उपन्यास शिरीषको फूल (वि.स.२०२२)मा आधारित नाटक भएकोले यो नाटक हेर्न पुग्नेमा युवा अवस्थाका विद्यार्थी बढी रहेका छन् । नाटकलाई आर्कषक बनाउन निर्माण युनिटले राम्रो मेहनत गरेको छ । फलस्वरुप नाटक हेर्न पुगेका दर्शक सन्तुष्ट मात्र छैनन् अरुलाई पनि नाटक हेर्न सुझाइरहेका छन् । शनिबार नाटक दुई सो मञ्चन गरियो । दुवै सो मा दर्शकको राम्रो उपस्थिती थियो । नाटक चैत्र २७ गते आइतबारसम्म मञ्चन हुनेछ ।
केदार श्रेष्ठको परिकल्पना रहेको नाटकको निर्देशन अञ्जान प्रदीपले गर्नुभएको छ । काठमाण्डौ तथा पोखराका कलाकारको अभिनय नाटकमा हेर्न पाइन्छ । नाटककी पात्र सकमबरीको भुमिकामा समृद्धि नेपाल, सुयोगविरको भुमिकामा संजय विश्वकर्मा, शिवराजको भुमिकामा हाङ ओ हाङ राई, मुजुराको रुपमा सविना गोपाली, सानु हेड हन्टरीकी छोरीको रुपमा अञ्जु रिजाल, भैसी गोठाल्नीको रुपमा मनिषा केसी, आदिवासी युवतीको रुपमा एलिसा भोग, मटिनचीको भुमिकामा दिप्सन विश्वकर्मा र पारिजातको भुमिकामा अञ्जु दाहालको अभिनय हेर्न पाइन्छ । नाट्य आलेख चौथो आयामले तयार पार्नु भएको हो ।
थिएटर मलका संस्थापक तथा कला निर्देशक रहनुभएका परिकल्पनाकार केदार श्रेष्ठले पोखरेली रंगप्रेमीको मायाका कारण उत्साह थपिएको बताए । प्रतिकुल मौसमका कारण समेत दर्शकको साथ मिलेकोमा खुशी लागेको उनको भनाई छ । नाटकले दर्शकको ध्यान खिच्दै मन जित्न सफल भएकोमा निर्देशक अञ्जान प्रदीप पनि सन्तुष्ट छन् ।
पोखरा थिएटर संस्थापक तथा क्रियटिभ डाइरेक्टर परिवर्तनले थिएटर मलसँग संस्थागत सहकार्यमा मञ्चन गरिएको नाटकले थिएटरमा रौनक थपिएको सुनाए । अब देशका विभिन्न नाट्य समुह वा नाटकघरसँगको सहकार्यमा वार्षिक रुपमा निरन्तर नाटक पस्कने सोच बनेको परिवर्तनको भनाई छ ।
प्रतिक्रिया लेख्नुहोस्:-