लमजुङ । सुन्दरबजार नगरपालिका ९ सिउडिवारस्थित मर्स्याङ्दी नदीमा पौडी खेल्ने क्रममा सोही नगरपालिकास्थित फ्यूचर स्टार माविमा अध्ययनरत सोही विद्यालयको होस्टेलमा बस्ने तनहुँ भानु नगरपालिका ९ बाईसजागर घर भएका १८ वर्षीय सनिस श्रेष्ठको मंगलबार दिउँसो डुबेर मृत्यु भएको थियो ।
अन्य दुईजना साथीसँग मिलेर नदीमा पौडी खेल्ने क्रममा सनिस श्रेष्ठ डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय भोटेओडारबाट खटिएको प्रहरीले खोजी गर्नेक्रममा उक्त नदीमा उनको शव फेला पारेको हो ।
सोही विषयलाई लिएर मृतकका आफन्तहरूले विद्यालयमा ढुङ्गामुढा गर्दा बिद्यालयको गेट, १ वटा बस र १ वटा जिपमा क्षति भएको छ भने ४ जना प्रहरी कर्मचारीहरू सामान्य घाइते भएका छन् ।
पीडितले आफन्तलाई खबर नै नगरी मृत शरीरलाई बेंसीसहरस्थित जिल्ला अस्पतालमा लगेको भन्दै मंगलबार साँझ अस्पताल र प्रहरी कार्यालयमा समेत प्रदर्शन गरेका थिए । आक्रोसित बाइसजाँगरका स्थानीयले साँझ फ्युचरस्टार आवासीय माविमा गएर ढुंगामुढा गरेका थिए । उनीहरुले विद्यालयका संस्थापक बाबुराम पौडेललाई पनि कारबाहीको माग गरेका छन् । उद्यपी श्रेष्ठसँगै पौडी खेल्न गएका विद्यार्थी र वार्डेन अमलियालाई भने नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक कृष्णबहादुर कार्कीले बताए ।
घटनालाई नियन्त्रणमा लिन प्रहरीले मंगलबार साँझ प्रदर्शनकारीमाथि अस्रुग्यास प्रहार गरेको थियो । प्रहरीले हवाइ फायर गर्दै लाठीचार्ज गरेको थियो ।
सुन्दरबजार नगरपालिका ९ सिउँडीबार क्षेत्रमा बुधबार विहान ६ बजेबाट अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ ।प्रमुख जिल्ला अधिकारी बैद्यका अनुसार निषेधाज्ञाको समयमा सवारी साधन आवतजावतमा बन्द गरिएको छ । दूध बोकेका गाडी, एम्बुलेन्स र प्रेसलाई आउजाउ गर्न दिइने छ । अन्य कुनैपनि सवारी साधन चल्न पाउने छैन । निषेधाज्ञा क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालित भएको छ ।






























प्रतिक्रिया लेख्नुहोस्:-