कुनै पनि काम सानोठूलो हुँदैन । ठूलो त केवल सीप हो । जोसँग सीप छ उसले जीवनयापन सजिलै गर्न सक्छ । सीप परापूर्वकालदेखि जातीय आधारमा वर्गीकरण गरिँदै आइएको छ । तर, यो विल्कुलै गलत हो । सीप भएको मान्छेले जुनसुकै काम गर्न सक्छ । समाजमा जुत्ता सिउने सीप भएका व्यक्तिलाई समाजले जबरजस्ती तल्लो दर्जाको बिल्ला भिराइदिएको छ । विगतमा जुत्ता सिउने पेशालाई समाजले हेर्ने दृष्टिकोण निकै नकारात्मक थियो ।
तर पनि बागलुङ नगरपालिका–३ गुठीका प्रेमबहादुर किसानले भने यो पेशालाई नै अंगाल्नुभयो । विगत २६ वर्षदेखि जुत्ता सिलाइ गर्दै आउनुभएका प्रेमले यो पेशालाई कुनै पनि हिसाबले नराम्रो रूपमा लिनुभएन । बरु उहाँले जीवन निर्वाहको उत्तम पेशाका रूपमा ग्रहण गर्नुभयो । विसं २०५२ सालदेखि यो पेशामा लाग्नुभएका प्रेमलाई सुरु(सुरुमा समाजले नराम्रो दृष्टिकोणले हेरे पनि अहिले उहाँलाई धेरैले सम्मानजनक हिसाबले हेर्ने गर्छन् । उहाँले गरिबदेखि धनाढ्य व्यक्तिसम्मको जुत्ता सिउने गर्नुहुन्छ ।
उमेरले बुढो हुँदै जानुभएका प्रेमले बुढो जुत्तालाई नयाँ बनाएर ग्राहकलाई आकर्षित गर्दै आउनुभएको छ । पाँच दशक पार गर्नुभएका प्रेमको जोसजाँगर भने अधवंैशे युवाको जत्तिकै छ । बिहान उठ्नेबित्तिकै घरबाट बागलुङ बजारको गोदामचोकस्थित जुत्ता पसलमा आउनुहुन्छ । जुत्ता सिउन पसलमा उहाँलाई दिउँसोभरि भ्याइनभ्याई हुन्छ । साना बालबालिकादेखि वृद्धवृद्धासम्म प्रेमकै पसलमा जुत्ताचप्पल सिलाउन आउँछन् ।
सबैको कामको सम्मान गर्नुपर्छ भन्ने मान्यता राख्ने किसानले विदेश पलायन हुने सपना कहिल्यै देख्नुभएन । स्वदेशमै स्वरोजगार बन्नुपर्छ भनेर लाग्नुभएका प्रेम आफूमात्रै स्वरोजगार बन्नुभएन, अरूलाई पनि रोजगार दिनुभयो । उहाँले केही समयअगाडिसम्म तीनजनालाई रोजगारी दिनुभएको थियो । बाबा हजुरबाले गर्दै आएको जुत्ता सिउने पेशालाई अंगालेको भन्दै आफूले यसलाई थप व्यवस्थित बनाएर सञ्चालन गरेको प्रेम बताउनुहुन्छ ।
‘हाम्रो बाबा–हजुरबाले पनि जुत्ता सिउने काम गर्नुहुन्थ्यो तर अहिलेको जस्तो व्यवस्थित थिएन, अहिले मैले केही फरक तरिकाले व्यवस्थित गरेर चलाएको छु,’ किसानले भन्नुभयो, ‘काम सानोठूलो हुँदैन, सबै कामलाई सम्मान गर्नुपर्छ, कोही मान्छेमा के सीप हुन्छ कोहीमा के सीप, हामीले सबैको सीपलाई सकारात्मक रूपले लिनुपर्छ ।’
उहाँले पहिले यो पेशालाई समाजले नराम्रो नजरले हेर्ने गरेको भन्दै पछिल्लो समय यसप्रति हेर्ने दृष्टिकोण फेरिएको बताउनुभयो । ‘पहिले मान्छेले जुत्ता सिउने काम सार्कीले मात्रै गर्छ भन्थे, नराम्रो नजरले हेर्ने गर्थे तर अहिले त्यो परिवर्तन भएको छ, सबैले सम्मान गर्नुहुन्छ,’ किसानले भन्नुभयो । विसं २०५२ सालमा आफन्तसँग ६५ हजार ऋण लिएर सुरु गरेको व्यवसाय अहिले फस्टाउँदै गएको छ । यसबाट आफू र आफ्नो परिवार सन्तुष्ट रहेको उहाँ बताउनुहुन्छ । ‘सुरुमा पसल खोल्दा मसँग पैसा थिएन, मैले आफन्तसँग ६० हजार ऋण मागेर पसल खोलेको हुँ, विस्तारै ऋण पनि तिरेँ, व्यवसाय राम्रो हुँदै गयो, परिवार सबै यसैबाट चलाएको छु,’ उहाँले भन्नुभयो । किसानले जुत्ता सिलाएरै दुई छोरालाई बोर्डिङमा पढाएको र अहिले उच्च तहको पढाइ गरिरहेको बताउनुभयो ।
किसानले सुरुमा सानो पसल थापेर जुत्ता सिउने व्यवसाय गरेको र अहिले बागलुङ बजारमा पसललाई ठूलो बनाएर व्यवस्थित गरेको बताउनुभयो । किसानले जुत्ता सिलाउनुका साथै नयाँ जुत्ता र पेटीसमेत बनाउने गर्नुहुन्छ ।
किसानले पहिलेको व्यापारको तुलनामा केही कमी आए पनि मासिकरूपमा ५० हजारदेखि ६० हजारसम्म आम्दानी गर्ने गरेको बताउनुहुन्छ । उहाँ कोरोनाकालभन्दा अगाडि मासिक एक लाखसम्म कमाउने गरेको सुनाउँदै अहिले कमी आएको बताउनुहुन्छ । एक श्रीमती, दुई छोरा रहेका किसानको परिवारमा सबैको राम्रै तरिकाले जीवन निर्वाह भइरहेको उहाँको भनाइ छ ।
‘पहिले कमाइ निकै राम्रो थियो, बजारमा त्यति धेरै जुत्ता पसलहरू पनि थिएनन्, अहिले बजारैभरि पसल खुलेका छन्, अझ यो कोरोनाले त झन् बर्बादै बनायो, कमाइ राम्रो हुने समय कोरोनाले तर्सायो, अहिले त धेरै कम भएको छ,’ उहाँले भन्नुभयो, ‘अहिले पनि मासिक ५० देखि ६० हजार त आम्दानी हुन्छ, अझै पनि कोरोनाको त्रासले होला ग्राहक कम भएका छन्, छोराहरूलाई यही पेशाबाट पढाइयो, घर खर्च राम्रै चलेको छ, विदेश जानुपरेको छैन ।’
किसानले जुत्ता सिएरै बागलुङमा एउटा पक्की घर बनाउनुभएको छ भने दुईवटा घडेरीसमेत किन्नुभएको छ । हालसालै पोखरामा पनि अर्को घडेरी किनेको किसानको भनाइ छ । उहाँले आफ्ना छोराहरूले यो पेशा नरोजेको बताउनुभयो । ‘छोराहरूले पढ्छन्, उनीहरूले यो काम गर्दैनन्, तपाईले गरिराख्नुभएको छ यो काम, हामीले अरू गर्छौँ भन्छन् छोराहरू,’ किसानले भन्नुभयो, ‘अबका युवाहरूले यो पेशाप्रति खासै चासो दिँदैनन्, हामीले पनि गर्न सक्दासम्म होला ।’
युवाहरूलाई स्वदेशमै स्वरोजगार बन्न प्रेरित गर्ने किसानले कामलाई सानोठूलो नभनी गर्नु पर्ने बताउनुभयो । उहाँले पछिल्लो समय युवाहरूमा विदेशमोह बढेको भन्दै स्वदेशमा भएका सम्भावनाहरू उनीहरूको नजरमा पर्न नसकेको बताउनुभयो ।
‘काम त जे भए पनि गर्नुपर्छ, हाम्रै गाउँठाउँमा जति पनि रोजगारका सम्भावना छन् तर युवाहरूले ती रोजगारका सम्भावनाहरू देख्दैनन्, उनीहरूले खाली विदेशिने सपनामात्रै देख्छन्,’ उहाँले भन्नुभयो, ‘विदेशमा गर्ने श्रम नेपालमै गरियो भने पनि राम्रो कमाइ गर्न सकिन्छ, विदेशिने मोहलाई त्यागेर नेपालमै केही गर्न सुरु गर्ने हो भने अवश्य सफल भइन्छ ।’


























प्रतिक्रिया लेख्नुहोस्:-