आगामी स्थानीय तहको निर्वाचनमा कोरोना संक्रमण भएका व्यक्तिहरूलाई पनि मतदान गर्न दिइने भएको छ। निर्वाचान आयोगले व्यक्तिको मतदान गर्ने अधिकारलाई सुनिश्चित गर्दै स्वास्थ्य मापदण्डसहित मतदान गर्न दिइने बताएको हो।
मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँग स्थानीय तह निर्वाचनको लागि भएको परार्मशका क्रममा आयोगले सोको प्रबन्ध गराउने बताएको छ। त्यस्तै चुनाव सञ्चालन गर्ने समयमा पनि कोरोना संक्रमण फैलन सक्ने भन्दै आयोगले कोभिड–१९ मापदण्ड अपनाएर निर्वाचन गराउने बताएको छ। चुनावको मितिसम्म खोप अभियानलाई व्यापक बनाएर खोप लगाएको सुनिश्चित गर्ने, संक्रमितलाई मतदानको विशेष प्रबन्ध मिलाउने, स्वास्थ्य मापदण्डको पालना गराउने आयोगले जनाएको छ।
कोरोना संक्रमणलाई ध्यानमा राख्दै निर्वाचनलक्षित कोभिड नियन्त्रणसम्बन्धी छुट्टै मापदण्ड जारी गरिनेछ। मतदान गर्न जाँदा वा मतदान कार्यक्रममा एकैठाउँमा धेरै मानिसलाई भेला हुन नदिने, कोभिड नियन्त्रणसम्बन्धी बनाइएको मापदण्ड कार्यान्वयन गराउने, सबै मतदानस्थलहरूमा मतदानको दिन स्वास्थ्य उपकरणसहित स्वास्थ्यकर्मीको व्यवस्था गर्नेलगायत विषयमा पनि प्रधानमन्त्रीसँग परामर्श तथा छलफल भएको आयोगले जनाएको छ।


























प्रतिक्रिया लेख्नुहोस्:-