पोखरा, २३ साउन । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली (पोखरेल) तनहुँमा पहिरोको अवस्था बुझ्न र राहत वितरण गर्न पुगेका छन् ।

तनहुँ जिल्लाको रिसिङ गाउँपालिकामा बाढीपहिरोबाट निधन हुने २ परिवारलाई राहत हस्तान्तरण समेत गरेका छन् । गाउँपालिका भवनमा शुक्रबार भएको कार्यक्रममा उनले उक्त राहत वितरण गरेका हुन् ।
रिसिङका देवीसरा थापा र गाउँपालिकाका सुरक्षा गार्ड खुमबहादुर आलेको परिवारलाई संघ सरकारको जनही २ लाख, प्रदेश सरकारको तर्फबाट जनही ५० हजार रुपैयाँ मुख्यमन्त्री पोखरेलले हस्तान्तरण गरे ।
असार २४ गतेको झरीपछि आएको पहिरोमा परी रिसिङमा २ जनाका निधन भएको थियो । पहिरोले रिसिङका धेरै बस्ती जोखिममा पर्नुका साथै सकडमा समेत क्षति पुगेको छ ।
सडक खुलाएर तत्काल यातायात सञ्चालन गर्न प्रदेश सरकारले २५ लाख रुपैयाँ उपलब्ध गराएको थियो । कार्यक्रममा मुख्यमन्त्री पोखरेलले परिवर्तित राजनीतिक परिस्थितिका कारण गण्डकीमा सरकार फेरिएको भन्दै सिमित स्रोत र साधनबीच पनि प्रदेशवासीलाई सेवा दिन पछि नपर्ने प्रतिबद्धता जनाए ।
पञ्चायतकालमा राजनीतिक संगठनका लागि रिसिङमा पुगेको स्मरण गर्दै उनले उक्त क्षेत्रको विकासका लागि स्थानीय तह, प्रदेश र संघ सरकार मिलेर अगाडि बढ्नुपर्ने बताए ।
कालीगण्डकी डाइभर्सनका बारेमा स्थानीयले राखेको चासोबारे सम्बोधन गर्दै उनले कुनै पनि हालतमा यो आयोजना सञ्चालन हुन नदिने भनाइ राखे ।
उनले भने, ‘बुटवलमा कार्यालय खुलेदेखि नै गण्डकी प्रदेश सरकारले यो आयोजनाको विरोध गरेको छ, सर्बपक्षीय बैठक नै गरेर पनि धारणा सार्वजनिक गरेका छौं, डाइभर्सन कुनै हालतमा हुँदैन ।
पोखराबाट नवलपुर जोड्नका लागि व्यवस्थित सडक नभएकोतर्फ इंगित गर्दै उनले यसका लागि अहिले झ्यालवास डेढगाउँ सडकलाई सरकारले प्राथमिकतामा राखेको भनाइ राखे । अहिले डबल लेनको बन्ने सडक ठेक्का प्रक्रियामा गइसकेको छ ।
तनहुँका प्रमुख जिल्ला अधिकारी सागरराज आचार्यले घर क्षति भएकाहरूलाई पुनस्र्थापनका लागि प्रति घर ४ लाख रुपैयाँ उपलब्ध गराउने बताए ।
जसमा संघको ६०, प्रदेशको ३० र स्थानीय तहले १० प्रतिशत लगानी गर्नु पर्ने तनहुँका प्रमुख जिल्ला अधिकारी सागरराज आचार्यले जानकारी दिए ।
तनहुँमा यो वर्ष बाढीपहिरोमा ६ जनाले ज्यान गुमाएका छन् । जिल्लाको रिसिङ, भानु र बन्दीपुरमा सबैभन्दा बढि क्षति पुगेको थियो ।
मुख्यमन्त्री पोखरेलले शुक्रबारै जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रको अवलोकन गरेका छन् ।
कोभिड महामारीका बेला अस्पतालले देखाएको सक्रियताको प्रशंसा गर्दै उनले अस्पतालको क्षमता वृद्धिका लागि प्रदेश सरकारले सहयोग गर्ने बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-