काठमाडौँ — श्रीलंकामा राष्ट्रपति निवासबाहिर हिंसात्मक विरोध प्रदर्शनपछि देशभर संकटकाल लागू गरिएको छ । बिहीबार कोलम्बोस्थित राष्ट्रपति गोटाबाया राजपक्षेको निजी निवासबाहिर हिंसात्मक प्रदर्शन भएको थियो । प्रदर्शनका क्रममा ब्यारिकेड तोडिएको थियो भने गाडीहरूमा आगजनी गरिएको थियो ।
स्वतन्त्रतापछि श्रीलंका सबैभन्दा ठूदो आर्थिक संकटबाट गुज्रिरहेको छ । श्रीलंकामा पछिल्लो समय खाद्यान्न र इन्धनको चरम अभाव भएको छ । त्यस्तै दैनिक उपभोग्य वस्तुको भाउ अकासिएको छ । बिहीबार राष्ट्रपति राजपक्षेको राजीनामा माग गर्दै उनको निवासबाहिर प्रदर्शन गरिएको थियो ।
कोरोना महामारीसँगै श्रीलंकाली अर्थतन्त्र धराशयी भएको बताइएको छ । कोरोनासँगै श्रीलंकाली अर्थतन्त्रको बलियो आधारका रूपमा रहेको पर्यटन उद्योग ठप्प भएको थियो । केही अर्थशास्त्रीले भने लगातार वैदेशिक ऋण लिने र अव्यवस्थापनका कारण अर्थतन्त्र धर्मराएको बताएका छन् । श्रीलंकाले सन् २०२० को मार्चमा विदेशी मु्द्रा बचाउन भन्दै आयातमा प्रतिबन्ध लगाएको थियो ।
श्रीलंकासँग अब पेट्रोलियम पदार्थ खरिदका लागि समेत पर्याप्त रकम नभएको बीबीसीले उल्लेख गरेको छ । पछिल्लो समय देखिएको संकटका कारण श्रीलंकामा उद्योग क्षेत्र‚ शिक्षा क्षेत्रसमेत धराशायी बन्दै गएका छन् । पेट्रोल पम्पमा पेट्रोलियम पदार्थका लागि र ग्यास पसलका अगाडि ग्यास सिलिन्डरका लागि मानिसहरूको लामो लाइन देख्नु श्रीलंकाको दिनचर्याजस्तै भइसकेको छ ।






























प्रतिक्रिया लेख्नुहोस्:-