पोखरा । गण्डकी प्रदेश सरकार स्थापनाको अवसरमा प्रदेश खेलकुद परिषदले प्रदेशको परम्परागत खेलहरुको आयोजना गरी मनाउने भएको छ ।
प्रदेशले आगामी ३ गते स्थापना दिवस मनाउँने सन्दर्भमा प्रदेश राजधानी पोखरामा महिला तथा पुरुष ठेलो प्रतियोगिता गर्ने भएको हो । यस्तै परिषदले मनाङ र मुस्ताङमा पनि तारो र घोड चढिको आयोजना गर्ने भएको छ । गण्डकी प्रदेशमा रहेको विभिन्न समुदायको मौलिक खेलको रुपमा प्राचिन समयदेखि नै खेलिदैँ आएको खेललाई प्रवद्र्धन गर्ने उदेश्यकका साथ प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
गण्डकी प्रदेश खेलकुद परिषदले आइतबार पत्रकार सम्मेलन मार्फत प्रतियोगिताबारेमा जानकारी समेत दिएको छ । प्रदेश परिषदका सदस्य सचिव तेज गुरुङले पोखरामा प्रदेश स्तरीय ठेलो प्रतियोगिताको आयोजना गर्न लागेको जानकारी दिए । उनले परम्परागत खेलको विकास गर्ने उदेश्यले र परम्परागत खेललाई आधुनिक तरिकाले अघि बढाउने अभिप्रायले ठेलो खेलको आयोजना गर्न लागेको जानकारी दिए । उनले गाउँघरहरुमा मेला महोत्वस तथा चाडबाडको समयमा खेलिदैँ आएको ठेलो खेललाई आधुनिक तरिकाले परिमार्जित गर्दै केहि नियम बनाएर प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिए ।
‘प्रदेशको स्थापना दिवसको अवसरमा परम्परागत खेललाई जोड्ने सौभाग्य हामीले पाएका छौँ । यसलाई राष्ट्रिय तथा अन्तराष्ट्रि खेलमा समावेश गर्नका लागि केहि आधुनिक तरिकाले लानुपर्छ’ उनले भने,‘त्यसैले हामीले केहि नियमहरु पनि बनाएका छौँ । गाउँमा जस्तो खेलाडीले जिन्स पाइन्ट वा अन्य कपडा लगाएर सहभागि हुन पाउनेछैनन् । खेल पोशाकमा सहभागिता हुनुपर्नेछ ।’
प्रतियोगिता ३ चरणको हुने उनले जानकारी दिए । प्रतियोगितामा ९ भन्दा बढि खेलाडीभएमा छनोट चरण हुने ९ जना भन्दा कम खेलाडीको सहभागिता रहेमा सोझैँ फाइनल चरणकै खेल हुने बताए । गाउँमा खेलिने भन्दा केहि फरक हुनेछ । खेलाडीले पहिलो चरणमा ३ पटकसम्म प्रहार गर्न पाउँने छन । खेलाडीले चाहेको खण्डमा लगातार ३ पटकनै प्रहार गर्न पनि पाउनेछन् । यस्तै खेलेमा २ वा सो भन्दा बढि खेलाडीले नतिजा बराबर गरेमा उक्त खेलाडीको दोस्रो नतिजाको वरियतालाई आधार मानेर नतिजा घोषणा हुने गुरुङले बताए । दोस्रो नतिजामा समेत बराबरी भएमा क्रमश तेस्रो, चौथो, पाँचौ र छैटौँ प्रहारको उत्कृष्ट नतिजाको आधारमा घोषणा गरिने छ । गुरुङले ठेलो एक हातलेमात्रै फाल्न पाउने र ठेलो फाल्दा साँधमा (निश्चित घेर) मा टेकेर फाल्नुपर्नेछ । अर्को नियम भनेको फालिएको ठेलो नखसेसम्म बाहिरी भुभागमा छुन गए मान्यता नपाईने उनले जानकारी दिए ।
प्रतियोगिता नवौँ राष्ट्रिय खेलकुदमा समावेश गर्ने तयारी समेत गरेको उनले सुनाए प्रतियोगिताको प्रथम हुनेले ६० हजार रुपैँया प्राप्न गर्नेछन् । दोस्रोले ३० हजार रुपैँया तथा तेस्रोले १५ हजार रुपैँया प्राप्त गर्नेछन् । प्रतियोगिता मंगलबार पोखरा रंगशालामा हुनेछ । यस्तै मनाङ र मुस्ताङमा भने समय अनुकुल भएपश्चात प्रतियोगिता आयोजना गरिने आयोजकले जानकारी दिए ।


























प्रतिक्रिया लेख्नुहोस्:-