जग्गा कारोबारको कमिसनमा कुरा नमिल्दा ३ जनाको हत्या भएको रहस्य खुलेको छ । मोरङको धनपालथान गाउँपालिका– ७ स्थित उखुबारीमा माघ १२ र १३ गते प्रहरीले २ जनाको शव उत्खनन गरेर निकालेको थियो ।
उखुबारीबाट माघ १२ गते सप्तरीको शम्भुनाथ नगरपालिका– ४ का ३२ वर्षीय शम्भुकुमार चौधरी र माघ १३ गते सुनसरीको धरान उपमहानगरपालिका– ३ घर भई भक्तपुर बस्दै आएका ४८ वर्षीय राजेन्द्रकुमार श्रेष्ठको शव भेटिएको थियो ।
माघ २० गते ललितपुरको गोदावरी नगरपालिका– १२ बाट तेह्रथुमका ६३ वर्षीय मोहन लिम्बूको शव उत्खनन् गरेर निकालिएको थियो ।
प्रहरीले हत्याको अभियोगमा सिरहाको सिरहा नगरपालिका– २१ घर भई काठमाडौंको बल्खु बस्दै आएका ३१ वर्षीय अनिल मण्डल, मोरङको जहादा गाउँपालिका–४ सिस्बनीका २९ वर्षीय अमित भन्ने दिनानाथ साह र धनपालथान गाउँपालिका– ७ कमलपुर पश्चिमटोलका ६२ वर्षीय नासिर आलमलाई पक्राउ गरी सार्वजनिक गरेको छ । घरजग्गाको कारोवार गर्दै आएका उनीहरूबीच कमिसनको विषयमा विवाद हुँदा हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।
‘जग्गा व्यापारबाट आएको कमिसन एक्लै लिन हत्या भएको देखिन्छ,’ जिल्ला प्रहरी कार्यलय मोरङका प्रमुख प्रहरी उपरीक्षक ९एसपी० जनार्दन जिसीले पत्रकार सम्मेलनमा बताए । पक्राउ परेका अनिलकुमार मण्डलले कमिसन एक्लै लिनका लागि योजना बनाएर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । उनीहरूको साझेदारी हाइड्रोपावर कारोवार, जग्गा कारोवार र सहकारीमा समेत रहेको एसपी जिसीले बताए ।
पक्राउ परेका दिनानाथ र नासिरलाई अनिलले नै पैसा दिएर हत्या गर्न लगाएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । तर उनले कति पैसा दिएका थिए भन्ने अहिलेसम्म नखुलेको प्रहरीले जनाएको छ । शुरूमा लिम्बुको हत्या गरेर शव गाडेपछि मण्डल दुवैजनालाई लिएर विराटनगर गएका थिए । विराटनगरको बसपार्क छेउमा रहेको मेट्रोसिटी होटलमा बसेका उनीहरूले त्यहीँ योजना बनाएको खुल्न आएको एसपी जिसीले बताए ।
‘श्रेष्ठ र चौधरीले लिम्बूको खोजी गर्दा आउँदैछ भनेर मण्डलले झूट बोलेको देखिन्छ,’ एसपी जिसीले भने । माघ ५ गते अनिलले आफ्नो योजनाअनुसार राजेन्द्रलाई होटलबाट लगेर हत्या गरेका थिए, तर त्यो कुरा शम्भुलाई जानकारी थिएन । त्यसको २ दिनपछि शम्भुको हत्या गरेर गाडेको प्रहरीको अनुसन्धानमा खुल्न आएको छ ।


























प्रतिक्रिया लेख्नुहोस्:-