सर्लाही / गाउँसभामा अनुपस्थित वडा सदस्यको हस्ताक्षर नै किर्ते गरेर नीति तथा कार्यक्रम पारित गरेको आरोपमा सर्लाहीको बसबरिया गाउँपालिकाका अध्यक्ष रामसिहासन राय पक्राउ परेका छन्।
सरकारी कागजात किर्ते गरेको आरोपमा प्रहरीले ५५ वर्षीय रायलाई मंगलबार दिउँसो करिब ५ बजे बसबरिया गाउँपालिका–१ स्थित उनकै घरबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार २०८० असार १० गते आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न आयोजित गाउँसभामा अनुपस्थित रहेकी एक वडा सदस्यको हस्ताक्षर किर्ते गरी गाउँसभाबाट नीति तथा कार्यक्रम पारित गरिएको थियो। उक्त घटनाबारे जिल्ला प्रहरी कार्यालय सर्लाहीमा उजुरी परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो।
गाउँसभाको निर्णय प्रक्रियामै हस्ताक्षर किर्ते गरिएको आरोपमा अध्यक्ष रायविरुद्ध सरकारी कागज किर्तेसम्बन्धी कसुरमा मुद्दा दर्ता भएको थियो। अनुसन्धानका क्रममा सर्लाही जिल्ला अदालतले २०८३ असोज १६ गते पक्राउ अनुमति दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।
स्थानीय सरकारको नीति तथा कार्यक्रम पारित गर्ने औपचारिक प्रक्रियामै वडा सदस्यको हस्ताक्षर किर्ते गरिएको आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ परेका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



























प्रतिक्रिया लेख्नुहोस्:-