पोखरा । ‘आमाको प्रेम सारा संसारमा’ भन्ने पवित्र भावनाका साथ सामाजिक सेवामा समर्पित अन्तर्राष्ट्रिय वी लभ यू फाउन्डेसनको आयोजनामा पोखरामा ‘९२९ औँ विश्वव्यापी रक्तदान कार्यक्रम’ भव्य रूपमा सम्पन्न भएको छ ।
पोखरा महानगरपालिका–८ सृजना चोकस्थित नेपाल रेडक्रस सोसाइटीको हलमा सम्पन्न उक्त कार्यक्रममा संस्थाका करिब १६० जना स्वयंसेवक सदस्यहरूको उत्साहजनक उपस्थिति रहेको थियो । बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म चलेको कार्यक्रममा पालैपालो १३५ जना रक्तदाताले कुल ६३,८७९ मिलिलिटर रगत दान गरेका छन् । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला शाखाले प्राविधिक सहयोग गरेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापति उर्मिला खड्का भण्डारीले संस्थाको मानवीय कार्यको उच्च प्रशंसा गर्नुभयो । “रगत कृत्रिम रूपमा बनाउन सकिँदैन, यो त मानिसले मानिसलाई नै दिने हो,” उहाँले भन्नुभयो, “वी लभ यूले वर्षमा दुई पटक रक्तदान गर्दै आएकोमा आभार व्यक्त गर्दछु । स्वस्थ व्यक्तिले हरेक तीन-तीन महिनामा रक्तदान गर्न सक्ने भएकाले रगतको अभाव टार्न अझ सक्रियताका साथ लाग्न म आह्वान गर्दछु ।”
त्यसैगरी वी लभ यूका गण्डकी प्रदेश प्रमुख राजेश कुमार लामिछानेले रगतको कुनै जात, धर्म वा भूगोल नहुने उल्लेख गर्दै नेपालमा रगतको अभावमा कसैले अकालमा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले अभियान चलाइएको बताउनुभयो । “हामीले दान गरेको रगत केवल रातो तरल पदार्थ मात्र होइन, अस्पतालको शय्यामा जीवन र मृत्युसँग जुधिरहेका बिरामीका लागि जीवनको आशा हो,” उहाँले जोड्नुभयो ।
कार्यक्रममा झुम्मिएका युवा रक्तदाताहरूले पनि व्यस्त समयका बाबजुद मानव सेवाभन्दा ठूलो धर्म अरू केही नभएकाले रक्तदानमा सहभागी भएको खुसी व्यक्त गरे ।
अध्यक्ष जाङ गिल जाको नेतृत्वमा सन् २००४ देखि कोरियाबाट सुरु भएको यो अभियान हाल विश्वका ६७ भन्दा बढी देशहरूमा विस्तार भइसकेको छ । वी लभ यूले यही अगस्ट महिनामा टीकापुर, कीर्तिपुर, तीनकुने र नेपालगञ्जमा रक्तदान सम्पन्न गरिसकेको छ भने भक्तपुर र भरतपुरमा पनि गर्ने तयारी छ ।
रक्तदानका अतिरिक्त यस संस्थाले गण्डकी र बागमती प्रदेशका दुर्गम तथा आवश्यक परेका विद्यालयहरूमा टेलिभिजन, स्कुल ब्याग, कपडा, पङ्खा तथा फर्निचर सहयोग गर्नुका साथै ‘क्लिक वर्ल्ड’ र ‘आमाको उद्यान (Mom’s Garden)’ मार्फत वातावरणीय सरसफाइ र वृक्षारोपणका कामसमेत निरन्तर गर्दै आएको छ
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८




























प्रतिक्रिया लेख्नुहोस्:-