पोखरा / निर्वाचन आयोगले चुनावी प्रचार गर्दा भौतिक रुपमा चुनाव चिन्हको प्रयोगमा रोक लगाएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रचारप्रसारका क्रममा धातु, काठ वा अन्य कडा सामग्रीबाट बनेका भौतिक स्वरूपका निर्वाचन चिह्न प्रयोग नगर्न राजनीतिक दल तथा उम्मेदवारलाई आइतबार निर्देशन दिएको छ।
आयोगका अनुसार फागुन २१ गते सम्पन्न हुने निर्वाचनको सन्दर्भमा केही दल वा उम्मेदवारले प्रचारप्रसारका क्रममा भौतिक स्वरूपका चुनाव चिन्ह साथमा बोकेर प्रयोग गर्दा प्रतिकूल असर पर्न सक्ने तथा सुरक्षा जोखिम बढ्न सक्ने भन्दै रोक लगाएको हो ।
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३१(१) अनुसार निर्वाचनका लागि दल र उम्मेदवारलाई वितरण गरिने निर्वाचन चिह्न आयोगले निर्धारण गर्ने व्यवस्था छ। त्यस्तै, प्रतिनिधि सभा सदस्य निर्वाचन निर्देशिका, २०८२ मा दल र स्वतन्त्र उम्मेदवारलाई प्रदान गरिने निर्वाचन चिह्नको सूची तथा प्रयोगसम्बन्धी प्रावधान उल्लेख गरिएको छ।
यसैगरी, निर्वाचन आचारसंहिता, २०८२ को दफा १३ को खण्ड (ड) मा दलको झण्डा र चुनाव चिन्ह प्रयोग गर्दा पालना गर्नुपर्ने मापदण्ड तोकिएको छ। आयोगले तोकिएको मापदण्डअनुसार कपडा, कागज, तुल वा फ्लेक्समा छापी/प्रिन्ट गरी मात्र निर्वाचन चिह्न प्रयोग गर्न पाइने स्पष्ट पारेको छ।
आयोगले नागरिकको सुरक्षामा असर पर्ने गरी कुनै पनि प्रकारका धातु, काठ वा अन्य त्यस्तै प्रकृतिका सामग्रीबाट बनेका निर्वाचन चिह्न प्रयोग गरी प्रचारप्रसार नगर्न आग्रह गरेको छ। उल्लिखित व्यवस्था विपरीत कार्य गरेमा आचारसंहिता उल्लङ्घन हुने र आवश्यक कारबाही गरिने आयोगले जनाएको छ।


























प्रतिक्रिया लेख्नुहोस्:-