काठमाडौं, २७ कात्तिक । देशका विभिन्न स्थानमा भएका तीन छुट्टा–छुट्टै सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ।
काठमाडौंको शंखरापुर नगरपालिका–५ पालुवारीस्थित सडकमा बुधबार साँझ मोटरसाइकल (बा.६५ प ७९९) ले ठक्कर दिँदा सोही नगरपालिका–६ का ५५ वर्षीय लक्ष्मण चित्रकार गम्भीर घाइते भएका थिए। उपचारका लागि केएमसी अस्पताल सिनामंगल पुर्याइए पनि उनको बिहीबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ। उक्त मोटरसाइकलका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
त्यसैगरी, रूपन्देहीको कञ्चन गाउँपालिका–१ पूर्वी कुचेरास्थित सडकमा बुधबार राति मोटरसाइकल (लु.१२ प ७५२७) को ठक्करबाट स्थानीय ६८ वर्षीय बलबहादुर परियारको मृत्यु भएको छ। गम्भीर घाइते परियारको चौराहा अस्पताल बुटवलमा उपचारका क्रममा निधन भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको बताएको छ।
यस्तै, नवलपरासी पश्चिमको सुनवल नगरपालिका–६ तिलकानास्थित सडकमा बुधबार राति बस (लु.१ क २६६९) ले ठक्कर दिँदा सोही स्थानका सन्तोष कुँवरका ४ वर्षीय छोरा शुभम कुँवरको ज्यान गएको छ। गम्भीर घाइते भएका शुभमलाई उपचारका लागि देवदह मेडिकल कलेज भलुही लगिएको भए पनि बचाउन सकिएन। बस चालकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।


























प्रतिक्रिया लेख्नुहोस्:-