पोखरा महानगरपालिका–८, सिमलचौरमा अवस्थित लिटिल स्टेप माध्यमिक विद्यालयले कक्षा ११ मा भर्ना भएका नवप्रवेशी विद्यार्थीहरूको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
विद्यालयको शैक्षिक तथा सामाजिक उन्नयनतर्फको प्रतिबद्धता झल्किने उक्त कार्यक्रम प्रेरणादायी मन्तव्य, सम्मान, सांस्कृतिक प्रस्तुति र सहभागीहरूको सहभागितासहित अत्यन्त सफल र अविस्मरणीय बनाइयाे ।
प्रमुख जिल्ला अधिकारी श्रीमती रुद्रादेवी शर्माले विद्यार्थीहरूको समग्र व्यक्तित्व विकासका लागि शिक्षा मात्र नभई जीवन मूल्य र व्यवहारिक ज्ञानको समेत आवश्यकता रहेकोमा जोड दिइन् । उनले भनिन्, “विद्यार्थीहरूमा जोश र होसको सन्तुलन हुनु अत्यावश्यक छ। आजको पुस्ताले समयअनुकूल सोच्न, निर्णय गर्न र अगाडि बढ्न सक्ने क्षमताको विकास गर्नु पर्दछ। विद्यालयको भूमिकालाई यस सन्दर्भमा अझ प्रभावकारी बनाउँदै लग्नुपर्छ।”
विद्यालय व्यवस्थापन समिति सदस्य डा. भीमनाथ बराल, स्नातक तह संयोजक श्री ईश्वर सुवेदी, र अभिभावक प्रतिनिधि लीला थापा मगरले आ-आफ्नो मन्तव्यमार्फत नवआगन्तुक विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको शुभकामना दिँदै विद्यालयको शिक्षण प्रक्रियामा सहकार्य गर्ने प्रतिबद्धता जनाए ।
विद्यालयले आफ्ना पूर्वविद्यार्थीहरूलाई सम्मान समेत गरेको थियो। हालै MDS in Orthodontics उपाधि हासिल गर्नुभएकी डा. अस्मि बराललाई विद्यालयको गौरवका रूपमा सम्मान गरिएको थियो। त्यस्तै, भारतको केरलामा सम्पन्न International Pageant 2025 मा भाग लिई कक्षा १२ की छात्रा आकृति सिकेले Miss Glam World को उपाधि, कक्षा ११ की छात्रा प्रिन्सु गुरुङले Miss Talent Award तथा Miss Teen Glam World 2nd Runner-Up को उपाधि प्राप्त गरेकोमा विद्यालयले उनीहरूलाई विशेष सम्मान गरिएको थियो । यस्ता उपलब्धिहरूले विद्यालयको अन्तर्राष्ट्रिय पहिचान निर्माणमा टेवा पुगेको विद्यालय प्रशासनले जनाएको छ।
कार्यक्रममा पञ्चकोशी आर्थर डाँडाखर्क समाज, प्रगति आमा समूह, अभिभावकगण, शिक्षक–शिक्षिकाहरू तथा अन्य सामाजिक प्रतिनिधिहरूको समेत उल्लेखनीय उपस्थिति थियो। सहभागीहरूबीच आपसी परिचय, सद्भाव र सहकार्यको वातावरण बन्न पुगेको थियो।
विद्यार्थीहरूले प्रस्तुत गरेका सांस्कृतिक कार्यक्रमहरू — नृत्य, गीत, कविता वाचन, अभिनय आदिले कार्यक्रमलाई अझै रंगीन र उल्लासमय बनाएको थियो। प्रस्तुतिहरूमा विद्यार्थीहरूको आत्मविश्वास, सृजनात्मकता र बहुपक्षीय प्रतिभाको झल्को देखिन्थ्यो, जसले सम्पूर्ण दर्शकहरूलाई मन्त्रमुग्ध बनाएको थियो।
विद्यालयकी आदरणीय प्राचार्य श्रीमती पम्फा गुरुङले आफ्नो शुभकामना मन्तव्य व्यक्त गरिन । कार्यक्रमको सभापतित्व विद्यालयका संस्थापक अध्यक्ष शेरबहादुर गुरुङले गरेका थिए । उनले आफ्नो मन्तव्यमा विद्यालय स्थापनाको उद्देश्य, अहिलेसम्मका उपलब्धि, र आगामी योजनाहरूको बारेमा प्रकाश पार्दै नवआगन्तुक विद्यार्थीहरूलाई शिक्षा मार्फत जीवन निर्माणमा लाग्न प्रेरित गरे । कार्यक्रमको सशक्त सञ्चालन विद्यालयका संयोजक श्री विनोद गिरीले गेका थिए ।


























प्रतिक्रिया लेख्नुहोस्:-