पोखरा । नेवारी समुदायको झिंगु नेवा: छें खल पोखरा महानगरपालिका वडा ११, १२ र १३ को प्रथम साधारण सभा शनिबार पोखरामा सम्पन्न भयो।
प्रमुख अतिथि नेवा: खल कास्कीका अध्यक्ष अशोक पालिखेले नेपालभरको नेवार समुदाय एक हुनुपर्ने धारणा राखेका थिए ।
उनले वारीको, पारीको, यताको र उताको नेवार नभनि हामी सबै नेवार भन्नुपर्ने र नेवारी धर्म, संस्कृति र परम्परा हामी आफैले जोगाएर पुस्तान्तरण गर्दै जानुपर्नेमा सबैलाई आग्रह समेत गरेका थिए। नेवारी संस्कृति जोगाउने जिम्मेवारी हामी नेवारहरूकै हो, अरू कसैले जोगाईदिने होईन भन्दै उनले आफ्नो तर्फबाट झिंगु नेवा: छें खललाई सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए।
कार्यक्रममा नेवा: मिषा खल कास्कीकी अध्यक्ष मेनुका श्रेष्ठ, नेवा: कचा खल सितलादेवीका अध्यक्ष शान्तकुमार श्रेष्ठ, सल्लाहकार बामनप्रसाद ढेवाजु, विश्वलाल श्रेष्ठ, समाजसेवी रामहरि श्रेष्ठ, नेवा: ल्याम्ह पुच: कास्कीका उपाध्यक्ष सहदेव जोजिजु विनित लगाएतले शुभकामना मन्तव्य राखेका थिए।
सो कार्यक्रममा आजीवन सदस्यहरूलाई सदस्यताको प्रमाणपत्र प्रदान गरिएको थियो। संस्थाले एकघर एक सदस्य बनाउने निति अवलम्बन गरी अभियान चलाउँदै आएको छ।
सभाले सचिव राजेश श्रेष्ठको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष सोनी ढेवाजुको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ।
केही बर्षभित्रै बहुउद्धेश्यीय भवन निर्माण गर्नेगरी संस्थाले विभिन्न गतिविधिहरू सञ्चालन गर्दै आएको जानकारी दिंदै अध्यक्ष भिमकुमार श्रेष्ठले नेवारी कला र संस्कृति झल्कने किसिमको भवन बन्नेमा विश्वास व्यक्त गरे।
संस्थाका अध्यक्ष भिमकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष निर्मला श्रेष्ठ र कार्यक्रमको सञ्चालन सचिव राजेश श्रेष्ठले गरेका थिए।
प्रतिक्रिया लेख्नुहोस्:-